
हेटौंडा \ नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दै जान लागेको छ ।
बजारमा पालाको माग बढेसँगै हेटौंडाको केहि व्यापारीहरुलाई यतिखेर पाला ल्याउन बिक्री गर्न भ्याइनभ्याई भएको छ । हेटौंडा राप्तिरोडमा रहेकी एक व्यापारी कृष्णमाया प्रजापतिले भने, तिहार आउन अझै हप्ता दिनभन्दा बढी समय बाँकी छ ।
हप्ता दिनभित्र मागअनुसारको पाला ल्याउनुपर्ने बताइन । गत वर्ष कोरोनाको कारणले गर्दा पाला तथा अन्य माटाको भाडा व्यापार हुन नसकेको बताँउदै प्रजापतिले यसपालि भने पालाको माग अहिलेदेखि नै बढ्को बताइन । तिहारमा पालाको उच्च माग हुने भएपछि यतिखेर उनीहरूले अन्य माटाका भाँडा ल्याउने कामलाई थाँती राखेका छन् ।
तिहारमा लक्ष्मी पूजाका लागि भक्तपुर , काठमाण्डौं र कलैयाबाट पाला ल्याउने भएकाले गमला, धुपौरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री ल्याउने कुरालाई थाँती राखेर पाला ल्याउने काममा अब व्यस्त हुने उनले बताइन । बिहान सबेरै उठने हो, चिया नास्ता गर्ने, ल्याएका पालालाई थप सिंगारेर तयार गरी, सुकाउने र सुकिसकेको पालालाई क्युमा बसेर पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा नै व्यस्त रहेको बताइन । अहिले अन्य भाँडाकुँडा ल्याउन फुर्सद नभएको बताइन ।
अहिले हेटौंडा बजारको करिब ४ ठाँउमा माटाका भाडा पाउने पसल छ । विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्राउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा छ । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायत स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा छ ।
पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत बत्तीको मागसमेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्यरुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन ।
केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी अर्जुन प्रजापति बताउँछन । विभिन्न आधुनिक विद्युतिय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो, उनले भने ।








