मुख्य खबरसमाचारफिचर

प्रदेशमा धानको क्षतिको क्षतिपूर्ति दिने

संवाददाता

 खबरबाकस \  बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन दिनदेखिको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको छ ।

मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको अध्यक्षतामा बसेको बैठकले धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्नका लागि र्‍यापिड रेस्पन्स टिम गठन गरेलगतै प्रदेशका विभिन्न जिल्लामा क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको हो । प्रदेशमा रहेका एक सय १९ वटै पालिका र कृषि ज्ञान केन्द्रमार्फत विवरण सङ्कलन गर्ने काम सुरु गरिएको सचिव पाण्डेले बताउनुभयो ।

पानी परेका कारण किसानले काटेको धान खेतमा खेर गएमा क्षतिपूर्तिसमेत दिइने भएको छ । धान सहित अन्य खालका बालीमा भएको नोक्सानीमा क्षतिपूर्ति दिनका लागि मन्त्रालयले एक करोड रुपैयाँ छुट्याएको छ ।

भारी वर्षा र हुरीका कारण धान बालीमा पुगेको यकिन विवरण आइनसकेकाले बागमती प्रदेशको कृषि विकास निर्देशनालयले सबै ज्ञान केन्द्रहरूलाई विवरण सङ्कलन गर्नका लागि पत्रसमेत पठाइसकेको छ ।

प्रदेशका मकवानपुर, चितवन, काभ्रे, धादिङ, काभ्रेपलान्चोक, सिन्धुली लगायतका ठाउँहरुमा धान बालीलाई हावा र पानीले ढालेको र किसानले काटेर सुकाएको अवस्था रहेको छ ।