
खबरबाकस \ धानबाली भित्र्याउने बेला पानी परेपछि धेरै ठाउँका किसान चिन्तित भएका छन् ।
दशैँ सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको छ ।
दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर केहिदिन देखी पानी पर्न थालेपछि टीका सकिएलगत्तै धान काट्ने किसानको योजना बिफल भएको छ ।
कतिपय ठाउँमा त काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउनेबित्तिकै पानी परेपछि नोक्सानी भएको किसानहरुको गुनासो छ । धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको अवस्था देख्न सकिन्छ ।
मकवानपुरको हटिया हर्नामाडी, मनहरी, बकैया लगायत आमभञ्ज्याङका फाटहरुमा काटिएको धान तथा पाकेको धानमा झरीले गर्दा भित्र्याउन नपाएपछि किसान चिन्तित भएका हुन् ।
मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ । मौसमविद्ले बुधबारसम्म नै पानी पर्ने बताएका छन् । धान पाके पनि पानीले भिजाउनुभन्दा केही दिन पर्खनु नै उपयुक्त हुने कृषि विज्ञको भनाइ रहेको छ ।








