मुख्य खबरसमाचारफिचर

दशैं आउँदा गावैं रमाइलो, लिपपोत र सरसफाइमा महिलाको व्यस्तता

मानवी बानियाँ

हेटौंडा \ गाउँघरमा दशैं आएको संकेत घरमा हुने लिपपोतले दिन्छ । बडादशैं शहरमा भन्दा गाउँमा अझ धेरै रौनक छाउँछ । हाल सबै घर रङ्ग्याउन, लिपपोत र सरसफाइमा व्यस्त छन् ।

मकवानपुरका गाउँमा वर्षभर झरिले छियाछिया परेका घरको बाहिरी भित्ता अनि मकुराले बुनेको जालो हटाएर कसैले रातो माटोले त कसैले कमेरो माटोले घर नै उज्यालो बनाइरहेका । यस बेलामा शहरका घरमा लगाइएको रङसँगै मिसिएको फेबिकलको बास्नाभन्दा गाउँमा लगाइएको माटोकै बास्नाले मन आनन्दित बनाउँछ । रातो र कमेरो माटो खोज्न यतिबेला गाउँघरका महिलाको दौडधुप चलिरहेको छ ।

वर्षको एकचोटि दशैंमा पुरै घर पोत्नुपर्ने चलनअनुसार उनीहरु टाढाबाट माटो खोजेर ल्याउँछन् । प्रायः गाउँघरका माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोत्ने चलन छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्ने चलन छ । ढिस्कोबाट माटो आफैं खनेर ल्याउने चलन छ । बजारको रङ लगाए शुभ हुँदैन भन्ने गाउँघरतिरको मान्यता छ । माटोको घरमा पोतिसकेपछि झ्यालढोकामा सालको बोक्रा पकाएर, त्यसबाट निस्किको पानीले रङ्ग्याउने चलन छ, जुन कालो रङजस्तै देखिन्छ ।

घण्टौं हिँडेर माटो ल्याउने गरिएको मकवानपुरगढी–४ की शान्तिमाया घलान बताउँछिन् । उनले घरको भित्तामा पहेंलो माटो लगाउन सुरु गरेकी छन् । टाढाको जंगलको बीचमा पाइने माटो लिन गाउँघरका दिदीबहिनीसँग जाने गरेको उनी बताउँछिन् । घरमा फूलपातीसम्म लिपिसक्ने उनले बताइन् । यस बेला महिलाको काम धेरै हुने शान्तिमाया बताउँछिन् । घरमा सरसफाइ गर्ने, लुगाधुने र चोख्याउने चलन रहेको उनको भनाइ छ ।

हेटौंडा—१८, दहीदमारकी रमिता घले पनि कत्लेको माटो लिन परसम्म पुग्छिन् । उनी भन्छिन्–माटो ल्याउन जाने चहलपहल भएपछि मात्र दशैं आएजस्तो लाग्छ । घरनजिक रातो माटो नपाइने भएपछि गाउँका महिला जम्मा भएर एकसाथ कत्लेको माटो लिन जाने गरेको उनी बताउँछिन् । कत्लेको माटोको तारिफ गर्दै उनी भन्छिन्–रङजस्तै रातो हुन्छ, किनेको रङमा र कत्लेको माटोमा कुनै फरक छैन । घर पक्की हुनेहरु रङ लगाउँछन्, कच्ची घरमा रातो माटो र कमेरो लगाउँछौं,’ उनले भनिन् ।

घर शुद्ध पार्न बनजंगलमा माटो खोज्न जादै गरेकी सम्झना घलान बाटोमा भेटिन्छन् । दशैंमा कसको घर कति राम्रो छ भनेर तुलना गर्ने हुँदा आफूलाई टाढै भए पनि जंगलजंगल धाउने गरेको भन्दै उनले वर्षाभर पानीले पखालेको घरको भित्ता टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालिएको बताउँछिन् । गाउँमा पक्की घर छिटफुटमात्र छन् । घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयाँ माटोमा उमारिन्छ । घरमा जमरा राखेसँगै आफूहरु घरसमेत लिपपोत गर्न व्यस्त हुने बताउँछिन् उनी ।
May be an image of child and body of water

मकवानपुगढी गाउँपालिकाका १४ वर्षीय प्रमोद न्यौपाने दशैंको लागि कुवा खन्दै गरेको भेटिए । एक खोल्सामा उनले केही साथी जम्मा गरेर दशैंमा धेरै पानी खर्च हुने भएका कारण कुवामा लुगाधुन, नुहाउन मर्मत गरेको बताउँछन् । घरमा धारा आइरहेको हुन्छ । तर, त्यसमा पानी खर्च हुन्छ । पाहुना पनि आउँछन्,’ उनले भने ।

मकवानपुरगढीकै सोना श्रेष्ठ १० वर्षकी छन् । घटस्थापनादेखि विद्यालय बिदा भएपछि उनी घरको काममा हजुरआमालाई सघाउँदै आएकी छन् । खासगरि उनी दशंैका लागि आफंै टपरी र दुना गाँस्न व्यस्त छन् । नवमीको दिन घरमा राँगाको मासु ल्याउने बताउँदै त्यही दुना र टपरीमा मासुचिउरा खाने उनले रमाउँदै भनिन् ।