मुख्य खबरफिचर

गङ्गाबहादुर हराएको ५२ वर्षपछि आफन्तको सम्पर्कमा आए

संवाददाता

बेनी \ सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका-४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।

विसं २००३ मा जन्मिएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका-३ मस्यगाउँमा पुगेको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उनी परिवारको सम्पर्कमा आएनन् । हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उनले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुर्ख्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उनका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले दिएको जवाफले उनको यकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।