
सिधाखबर खबरबाकस \ मकवानपुरको पूर्वीक्षेत्र बकैया गाउँपालिकामा फियान नेपालले सञ्चालन गरेको खाद्य अधिकार कार्यक्रम सकिएको छ । गत २०७६ सालबाट गाउँपालिकाको वडा नम्बर ५,६ र ७मा सञ्चालन गरिएको खाद्य अधिकार परियोजना शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको छ ।
फियान नेपाल स्थानीय खाद्य अधिकार समूहका अध्यक्ष शुक्र विश्वकर्माको अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शेरमान घलानको प्रमुख अतिथ्यतामा खाद्य अधिकारको विषयमा सुरुवाती क्षण र दुई वर्षपछिको अवस्थाबारे कार्यशाला गोष्ठी गरी छलफल गरिएको थियो ।
खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको फियान नेपालले समूह गठन गरी खाद्य संकट, खाद्य उत्पादन, खाद्य सुरक्षा, खाद्य उपभोग जस्ता विभिन्न विषयमा योजना तयार पारी काम गरिएको थियो ।

समुहका अध्यक्ष विश्वकर्माले सुरुवाती समयलाई सम्झदैं यहाँ सम्म आउदाँको अवस्था धेरै नै परिवर्तन हुनका साथै महिलाहरुमा धेरै नै परिवर्तन आएको बताए । खाद्य मात्र नभई फियानका कार्यक्रमले आफुहरुलाई भुकम्प पछिको पुनर्निमाण आवास, जग्गा नापीका विषयमा पनि सहजीकरण गरिएकाले सबैलाई सजिलो भएको बताए ।
त्यस्तै, बकैया खाद्य अधिकार सञ्जालका अध्यक्ष पुवन सिंह गुरुङले हाम्रो क्षेत्र चुरे क्षेत्र परेकाले अइलानी जग्गा भएता पनि सिँचाइको अभाव हुदाँ खाद्यमा संकट भएको बताए । जग्गा छ तर पानी नभएकाले खेती गर्न समस्या रहेको बताउदैं गुरुङले सीप सिकेर गाउँपालिका, फियान नेपाल, वन उपभोक्ता समूहको सहकार्यमा अगरबत्ती धुप उत्पादन गरि स्वरोगारको बाटो लागेको समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शेरमान घलानले खाद्य अधिकारको परियोजनाले वडामा गरेको कार्यलाई धन्यावाद दिदैं पाँच वर्ष वितिसक्दा पनि भुकम्प पछिको पुनर्निमाणको समस्या हल हुननसकेको बताए । वडाबासीले समस्या बोकेर आउनुस् म समाधान गर्न तत्पर रहेको बताउदैं अध्यक्ष घलानले वडामा कृषि तथा पशुपालनका क्षेत्रमा बजेट रहेकाले किसानलाई आवश्यकता अनुरुप दिने बताए । यहाँ जग्गाको विषयमा अधिकांस अइलानी रहेकाले नापी आउन वडा/गाउँपालिकाले पहल गरिरहेको छ अवश्य पनि वडाबासीले पुर्जा पाउनेछन् उनले भने ।
बकैया ५ कर्मचुलीमा भएको कार्यक्रममा फियान नेपालका केन्द्रीय प्रतिनिधि लक्ष्मी गुरुङ, जिल्ला सहसंयोजक डा. सम्राट तुम्बाहाम्फे, सदस्य उर्मिला पुलामी मगर,धादिङका संयोजक राजेन्द्र बस्नेत, रेश्मी कार्की लगागत खाद्य अधिकार समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।








