मुख्य खबरसमाचारफिचर

दशैंमा अग्रिम टिकटको घुईंचो, व्यवस्थितढंगले लैजान तयार छौंः कम्पनी

मानवी बानियाँ

हेटौंडा \ दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । केन्द्रको राजधानी काठमाडौंमा टिकट बुकिङ खुला गरिएसँगै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि चहलपहल सुरु भएको छ ।
हेटौंडा पूर्वपश्चिम राजमार्गअन्तर्गत् केन्द्रमा रहेकाले यहाँ व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका, आएका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन पुरानो नारायणी यातायात कम्पनीले पनि अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । हाल हेटौंडाको बसपार्कमा टिकट लिने यात्रुको चाप प्रतिदिन बढ्न थालेको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत् रवि आचार्य । हेटौंडाको हुप्रचौरमा डेरा लिएका उनी मंगलबार टिकट बुकिङ गर्दै गर्दा भेटिए । असोज २२ गते घर जाने तयारीमा रहेको उनले बताए । झापाका उनी काम र अध्ययन गर्न हेटौंडामा बस्दै आएका हुन् । उनले अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन सहज भएको प्रतिक्रिया दिए ।

कम्पनीले बाह्रैमास टिकट बुकिङ खुला गर्ने गरेको छ । तर, दशैंमा बढी चाप हुने भएका कारण अघि नै टिकट लिएर बस्नेको बसपार्कमा घुुईंचो लाग्छ । पूर्वका झापा, सिन्धुली, बर्दिवास, सर्लाही, पश्चिमका नेपालगञ्जसम्म पुग्ने बस स्टेशनका लागि भने १ सय भन्दा बढी टिकट बुकिङ भइसकेको काउन्टरका एक कर्मचारीको भनाइ रहेको छ । गत वर्ष कोरोना संक्रमणका कारण सहज थिएन । यस वर्ष भने समयमा अग्रिम टिकट बुकिङ भइसकेको छ ।

कम्पनीमा १ हजार १ सय यात्रुबाहक यातायात सञ्चालनमा छन् । बसपार्कमा ८ काउन्टर छ । जसमा लोकल ५ वटा र चितवन, वीरगञ्ज, चपुरबाहेक अन्य ठाउँमा जाने बाहिरी ३ वटा काउन्टर रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका महासचिव सरोज खनालका अनुसार दशैंमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्न टिकट काउण्टर थप्ने तयारी छ । संक्रमण यथावत् रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर लैजाने खनालले जानकारी दिए । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डंकैती न्यून गर्न आफूहरुले प्रहरीसँग समन्वय गरिरहेको उनको भनाइ छ ।

दशैंमा यात्रुलाई सुरक्षित तवरले गन्तव्सम्म जाने वातावरण निर्माण गर्न गाडीको मर्मतसम्भार गर्नुका साथै मास्क र सेनिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको खनालले बताए । यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने उनको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालयले पनि चाडपर्वलाई लक्षित गरेर प्रदेशको राजधानी हेटौंडाका विभिन्न स्थानहरुमा यात्रु सहायताकक्ष स्थापना गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । सहायताकक्षले हेटौंडा बजारबाट विभिन्न गन्तव्यसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यसम्म सहज जान आवश्यक समन्वय गर्ने जनाइएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा प्रवक्ता नवीनकुमार सिंहका अनुसार भीमफेदी—कुलेखानी हुँदै जाने सडकमात्र बिग्रिएको अवस्था छ । दशैंमा चाप बढ्ने भएकाले बेलैमा मर्मतसम्भारमा लागिपरेको सिंहको भनाइ छ । ठाउँठाउँमा पहिरो जाने सम्भावना रहेका स्थानमा तत्काल मर्मतको व्यवस्था मिलाइएको उनले बताए । अन्य राजमार्गमा भने त्यति समस्या नरहेको उनले बताएका छन् ।