
हेटौंडा \ हेटौंडाको सिद्धार्थ माध्यमिक विद्यालय मकवानपुरको उत्कृष्ट विद्यालयका रुपमा चिनिन्छ । हेटौंडा—२ स्थित नगरपालिकानजिक उक्त विद्यालय छ ।
पछिल्लो समय विद्यालयमा विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दो छ । कारण हो, विद्यालयको गुणस्तरीय शिक्षा, विभिन्न विषय थप र अन्य सेवासुविधा । सेवासुविधाभन्दा पनि हाल विद्यार्थीहरु त्यहाँ पढाइने विभिन्न तहका विषयका लागि जाने गरेका छन् ।
करिब २ वर्षअघि विद्यार्थीको संख्या करिब १ हजार २ सयको हाराहारीमा हुन्थ्यो भने हाल बढेर १ हजार ७ सय पुगेको छ । कोरोना महामारीमा पनि अझ बढी बढेको देखिन्छ । विद्यालयमा इङ्ग्लिस मिडियम पनि भएपछि निजी विद्यालय जाने विद्यार्थीको आकर्षण पनि सिद्धार्थमा रहेको देखिन्छ । नयाँ विषय थप गरिएसँगै विद्यालयले विद्यार्थी थप गर्न सफल भएको हो । दशैंतिहारपछि अझै २ सय विद्यार्थी बढ्ने विद्यालयको अनुमान छ । हाल विद्यालय बिभिन्न योजनासहित अघि बढिरहेको छ ।
बीएएलएलबीको तयारी
करिब ३ वर्षअघिदेखि विद्यालयले कानुन संकाय अध्यापन गराइरहेको छ । कक्षा–११ र १२ मा दुई-दुई वटा सेक्सन सञ्चालन गरी कक्षामा ४०—४५ को हाराहारीमा विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी गराए । कानुन संकायमा हालको अवस्थामासम्म ५० जना विद्यार्थी उत्कृष्ट नतिजासहित बाहिर पढाइका लागि गइसकेको शर्माले बताए ।
अब माध्यमिक लेभलको मात्र नभएर बीएएलएलबीको तयारीमा जुटेको उनले बताए । जुन स्नातक सरह रहेको शर्माको भनाइ छ । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत् बीएएलएलबी कक्षा सुरु गर्ने जमर्को गरिएको हो ।
विद्यार्थी तथा अभिभावकको मागसहित सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उनले बताए । प्लस टु लेभलको कानुन संकाय अध्ययन गरेपछि बाहिरी जिल्लामा जानुपर्ने बाध्यता रहेको बताउँदै शर्माले त्यसलाई मध्यनजर गर्दै उक्त योजना अघि सारिएको जानकारी गराए । जसलाई हेटौंडा उपमहानगरपालिकाले पनि चासोको विषयमा राखेको र सहयोग गर्ने भनिएको शर्माले बताए ।
'बिगस्कुल’ मा सिद्धार्थ
विद्यालय आर्थिक वर्ष २०७७-०७८ मा बागमती प्रदेशकै 'बिगस्कुल’ मा पर्न सफल भएको थियो । जसमा सिन्धुपाल्चोकको थानपाल मावि र मकवानपुरको सिद्धार्थ मावि रहेको प्रअ शर्माले जानकारी गराए । बिगस्कुलमा परेपश्चात् आफूहरुले अब विद्यार्थीलाई मध्यनजर गर्दै विभिन्न सेवासुविधा थप गर्न पाउने उनको भनाइ छ ।
विद्यालयका विद्यार्थी संख्या, पढाइको गुणस्तर, नतिजा, शिक्षकको योग्यताका कारण विद्यालय बिगस्कल’ मा पर्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरे । जसअन्तर्गत् विद्यालयमा होस्टल, बसलगायत व्यवस्था हुने गरेको उनको भनाइ छ । अब तत्काल एउटा बस विद्यालयमा आउने उनले बताए । यस विषयमा संघीय सरकारसँग समेत सम्झौता भइसकेको र बजेट केकति छुट्याउने भन्नेमात्र बाँकी रहेको शर्माले जानकारी गराए । 'बिगस्कुल’ लाई शब्दमा मात्र नभएर शिक्षामा पनि 'बिग’ बनाइने उनको दाबी छ ।
फरेष्ट्री अध्ययनमा विद्यार्थीको रुचि
विद्यालयले तीन वर्षे डिप्लोमा सीटीईभीटीअन्तर्गत् फरेष्ट्री विषयसमेत अध्ययन गराइरहेको छ । तेस्रो वर्षसम्म आइपुग्दा उक्त विषयमा विद्यार्थीको चाप हुने गरेको शर्माको भनाइ छ । ४० जनाको सिट रहेकोमा हालसम्म यस वर्षको अध्ययनका लागि २५ जनाले भर्नाका लागि फाराम भरिसकेका छन् । उक्त विषय पढेपछि रेञ्जरमा लड्न पाइने र बीएससी अध्ययन गर्न पाइने शर्माले बताए । यसका लागि पनि कक्षा–११ र १२ दुवैमा सेक्सन छुट्याएर अध्ययन गराइने गरेको शर्माले जानकारी गराएका छन् ।








