मुख्य खबरसमाचारफिचर

महिलामा सीपमुलक तालिमका साथै व्यक्तित्व विकास

संवाददाता

खबरबाकस \ मकवानपुरको दुई गाउँपालिकामा गरिएको मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजनाको कार्य सफल र महिलामा सीपमुलक तालिम पश्चातका कार्यहरुमा सकरात्मक नजिता रहेको जनाइएको छ ।

नारी सीप सृजना केन्द्र मकवानपुरले मकवानपुरको बागमती र राक्सिराङ गाउँपालिकाको १ देखी ५ नम्बर वडामा गरिएको उक्त परियोजना अनुरुप त्यहाँका महिला र समूहमा आवद्ध सबैमा व्यक्तित्व तथा नेतृत्व विकास भएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२० बाट उक्त परियोजना जुन मानव बेचविखनमा रोकथाम र सुरक्षित स्थानागमन प्रर्वद्धनका लागि काम गरिएको थियो ।

वैदेशिक रोजगारको नाममा बेचिनु भन्दा स्वदेशमै स्वरोजगारको सम्भावना रहेकाले स्थानीय तहमा नै समूह निर्माण गरी महिलाहरुलाई विभिन्न कृषि तथा पशुपालनका तालिम, उद्यमशिलता लगायतको तालिम दिएको केन्द्रका कार्यकारी निर्देशक चिरन्जीवि पौडेलले बताए ।

परियोजनाको काम भएपश्चात मकवानपुरका दुइ सञ्चारकर्मीलाई अनुगमन गर्न लगाएपछि आएको अनुगमनको प्रतिवेदन बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको थियो ।

प्रतिवेदनमा उल्लेख भएबमोजिम समूह निर्माणपश्चात महिलाहरुमा खुलेर भन्न सक्ने र आफुमा व्यक्तित्व र नेतृत्व विकास वृद्धि भएको पाइयो । मानव बेचविखनका विभिन्न नयाँ स्वरुपबारे पत्ता लगाउनका साथै वैदेशिक रोजगार जानपूर्व थाहा पाउनुपर्ने विभिन्न विषयवस्तुबारे थाहा पाइएको प्रतिवेदनमा उल्लेख छ ।

बागमतीमा स्वदेशमा नै आर्थिक उपार्जनका निम्ति परियोजनाले तरकारी खेती, बाख्रा पालन र लोकल कुखुरा पालनका तालिम पश्चात प्रतिव्यक्तिलाई बाख्रा र लोकल कुखुरा वितरण गरिएको केन्द्रका कार्यक्रम संयोजक ज्योती भोम्जनले बताइन् । ३१ जनालाई बाख्रा र २० बटा लोकल कुखुरा दिइएको र ५३ जनालाई तरकारी खेती तालिम दिई टनेलको लागि आवश्यक सामाग्री प्रदान गरिएको भोम्जनले बताईन् ।

त्यस्तै, राक्सिराङमा पनि ३१ जनालाई बाख्रा, ११३ जनालाई तरकारीका वीऊ र ५३ जनालाई टनेलका सामाग्री सहित खेती तालिम प्रदान गरिएको निर्देशक पौडेलले बताए । प्रत्येक वडामा छलफल केन्द्रबनाई सचेतना मुलक छलफल गरी महिलाहरुमा आयआर्जनमा कसरी जोडिने भनी क्रमशःबाख्रा, कुखुरा पालनका साथै तरकारी खेतीमा अग्रसर भएका छन् ।

केन्द्रका अध्यक्ष सरस्वती बर्तौलाको उपस्थितीमा भएको पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाको अनुगमन गरी फर्केका दीपकसिं रुम्बा र राक्सिराङ गाउँपालिकामा अनुगमन गरी फर्केका केशव समर्पणले आफ्नो प्रतिवेदनबारे प्रष्टाएका थिए ।