
हेटौंडा \ प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन् ।
जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताएका छन् ।
विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रबर्द्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गरेका छन् । उनले यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गरेका छन् ।
विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बर्द्धनमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।








