
खबरबाकस \ सनराइज बैंक हेटौंडा शाखाले दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका साथ दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई पाँच लाख दुर्घटना बीमा रकम हस्तान्तरण गरिएको हो । बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।
बैंकको बचत खातामा बीमाको सुविधा योजना अन्तरगत बचत खाता खोल्ने सेवाग्राहीको दुर्घटनाबाट मृत्यु भएको खण्डमा वा अपाङ्गता भएको अवस्थामा बढीमा ५ लाख वा दुर्घटना हुदाँका बेला बचतकर्ताको खातामा भएको रकमको चारगुणा रकम दिइने सुविधा रहेको प्रवन्धक खतिवडाले बताए ।
बैंकले दुर्घटना बीमाको अलावा बचतखातामा स्वास्थ्य बीमाको पनि सुविधा रहेको छ । यस अन्तरगत बचत खाताकर्ताले बचतको आधारमा उपभार खर्च दावी भुक्तानी प्राप्त गर्न मिल्ने सुविधा रहेको खतिवडाले बताए ।
हाल सनराइज बैंक १४ औं वार्षिकोत्सवको अवसरमा मुद्दती निक्षेपमा सर्वाधिक उच्चतम व्याजदर १०.०७ प्रतिशत कायम गरी सेवा दिइरहेको प्रवन्धक खतिवडाले बताए । वाणिज्य बैंक अन्तरगत पर्ने अन्य बैंक मध्ये मुद्दतीमा सर्वाधिक व्याजदर सुविधा दिने अवधि सिमित रहेको समेत बताएका छन् ।








