मुख्य खबरसमाचारफिचर

चाडवाडको वाहानामा सधै मुल्यवृद्धि : स्थानिय तहलाई कारवाही गर्ने छैन अधिकार

संवाददाता

हेटौंडा \ दशैं नजिकिँदै गर्दा बजारभाउ छोइनसक्नु छ । चाडवाडको मौका छोपेर व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य समग्रमा ३० प्रतिशसम्म बढाएपनि सरकारी निकाय थाहै नपाएजस्तो गरिरहेको छ ।

निम्न र मध्यम वर्गका उपभोक्ता मुल्यवृद्धिको सबैभन्दा मारमा पर्दा सरकारी संयन्त्र मन्त्री नभएको बाहानामा चुपचाप छ । गत फाल्गुन, चैतमा १ सय ५० रुपियाँको भटमासको तेल अहिले २ सय ५० पुगेको छ । १ सय ६० रुपियाँको सलफ्वार तेल अहिले २ सय ६० रुपियाँ पर्छ । २० वटा तेल उद्योग देशमै रहेपनि ६ महिनामा भाउ प्रतिलिटर १ सय रुपियाँ बढेको छ । चामलमा किलाको ५ देखि १५ र दालमा प्रतिकेजी ५० रुपियाँसम्म भाउ बढेको छ ।

हेटौडा कान्तिराजपथमा सामान किन्दै गरेको भेटिन्छन्, हेटौंडा—७ तिर्थकुमारी रुम्बा । धेरै समयपछि बजारमा सामान किन्न आएकी उनि भाउ बढेको सुन्दा एकछिन अलमलमा पर्छिन् । अन्य समय छोराछोरीले खरिद गरेर लैजाने भएको कारणले आफुलाई यसरी हवात्तै भाउ बढेको थाहा नभएको रुम्बा बताँउछिन् । यसरी त दैनिकी उपभोग्य गरेर खाने सामान महंगो हुँदा हामी जस्तो सामान्य परिवार मारमा पर्ने दुखासो गरे ।

हेटौंडा—४ हिरालालको मार्ट सामान किन्दै गरेका अर्को गणेश चौलागाईको पनि उस्तै गुनासो छ । महंगी बढेको कारणले यसपालीको दशैं खर्च लाखले समेत धान्न मुस्किल हुने बताँउछन् । दशैंको समयमा घरमा पाहुना टन्नै हुने र दाल, चामल र तेलको बढी प्रयोग हुने बताउँदै यसपाली धेरै खर्चिलो दशैं हुने उनको चिन्ता छ ।

थोक बिक्रेताका मनोमानीका कारण मुल्यवृद्धी भएको खुद्रा व्यापारीको भनाई छ । तर, स्थानीय व्यापारीले भने पसललै पिच्छे आफु खुशी मुल्य दिँदै आएका छन् । हेटौंडा बुद्धचोकमा रहेका खुद्रा व्यापारी मोहम्मद अन्सारीका अनुसार खुद्रा व्यापारीले भाउ बढाएर लिन नसक्ने प्रतिक्रिया दिन्छन् । एक ठाँउबाट अर्को ठाँउमा जाने बित्तिकै मुल्य थाहा हुने भएको कारणले आफुले झुट बोलेर उपभोक्तालाई दिनखोज्दा छिनै झुट पक्रने उनको तर्क छ ।

मुल्यवृद्धि हाम्रो अधिकार भित्र पर्दैन् :हेटौंडा उपमहानगरपालिका
उपभोक्तालाई अचाक्ली मार पर्नेगरि बजारमा मनमानी हुँदा समेत अनुगमनको जिम्मा लिएको हेटौंडा उपमहानगरपालिकाले केही गर्न भने सकेको छैन् । हेटौंडा उपमहानगरपालिकामा उपप्रमुख मिना लामाको संयोजकत्वमा बजार व्यवस्था तथा अनुगमन समिति रहेको छ । समितिका सदस्य बिष्णुकुमारी लामिछानेका अनुसार आफुहरु अनुगमन समितिमा भएतापनि मुल्यवृद्धिको विषयमा केहि गर्न नसक्ने बताँउछिन् । हामीले दशैंकै लागि भनेर सुचना प्रचारप्रसार गर्ने काम त गरेका छौ, त्यो हुँदा उपभोक्ता ठगिदा उजुरी कहाँ गर्ने भन्ने जानकार हुन्छन् उनले भनिन् । पटक—पटक बजार अनुगमन गरिरहेका छौ, यो आर्थिक वर्षमा मात्रै ३ पटकसम्म गरेका छौ । केही उद्योगहरु कारवाहीमा पनि परेको लामिछानेले बताईन् ।

उपभोग गर्नेहरुले मुल्य सुचि राखेका समेत पाईँदैन्, यो विषयमा छिटट्ै बैठक बसी कार्यान्वयन गर्ने वातावरण बनाउने उनको भनाई छ । तर कतिपय अवस्थामा नियन्त्रणमा गर्ने अवस्था समेत स्थानीय सरकारको मातहतमा नरहने उनको भनाई छ । माथिबाटै अनुमति पाएका उद्योगहरुले यहाँ गुणस्तरहिन सामाग्री खरिद गरेपनि हामीले केहि गर्न सक्दैनौ लामिछानेले गुनासो गरिन् ।