मुख्य खबरसमाचारफिचर

कांग्रेस अधिवेशन पदाधिकारीमा घोषणा: पुरुषको तुलनामा महिला शुन्य

मानवी बानियाँ

हेटौंडा \ नेपालमा पटक—पटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने संविधानले दिएको अधिकारको तुलनामा ज्यादै न्यून देखिन्छ ।

२०६२—६३ को जनआन्दोलनपछि समानुपातिक निर्वाचन प्रणालीले धेरै महिला राजनीतिमा सक्रिय भए, सभासददेखि राष्ट्रको गरिमामय पद राष्ट्रपतिसम्म पुग्ने मौकासम्म पाएका छन् । इतिहासमै पहिलोपटक नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशको रूपमा महिलालाई पायो । यसले विश्वभर नेपाललाई फरक पहिचान पनि दियो । तर अहिले पनि निर्णय प्रक्रियामा पुरुष नै देखिएकाले यो गरिमामय इतिहास फेरि नदोहारिने हो कि भन्ने शंका धेरैमा उठ्न थालेको छ । नेपालको अन्तरिम संविधानले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिसकेको भए पनि २०७२ असोजमा संविधान जारी भएपछि आजसम्म बनेका मन्त्रिपरिषद्मा एकतिहाइ महिला सहभागिता हुन सकेको देखिन्न ।

भर्खरनै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा स्तरको अधिवेश सम्पन्न भएको छ । त्यो संगै मकवानपुरमा पनि १ सय २ वटै वडाहरुमा अधिवेशन सम्पन्न भएको छ । केन्द्रदेखि तल्ला तहका पार्टी संरचनामा महिला नेताहरू खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेकै कारण यो पालि वडाको क्षेत्रिय प्रतिनिधि बुथमा महिला सहभागीता निकै बढ्यो । कांग्रेसको विधानमा पनि उल्लेख छ ३३ प्रतिशत महिलाको सहभागिता गराउने कुरा ।

जिल्लामा वडा अधिवेशनबाट एक हजार ७ सय ७९ जना निर्वाचित भएको छ कांग्रेस जिल्ला निर्वाचन अधिकृतको सचिवालयले जनाएको छ । जसमा क्षेत्रिय प्रतिनिधि प्रत्यक्ष खुलामा ६ सय १९ जना, प्रत्यक्ष महिलामा ३ सय ४, खसआर्य महिलामा ४९ जना, खसआर्य खुलामा १ सय ८३ जना, आदीवासी जनजाति खुलामा २ सय ५४ जना दलितमा ७८ जना, अपांगता अल्पसंख्यक र तेस्रोलिंगी गरी ५५ जना, मुस्लिम १० जना मधेशी २२ जना र थारु ३ जना निर्वाचित भएका थिए ।

जिल्लाको तथ्याङले महिला सहभागीता बढाएको छ तर, नेतृत्व लिने ठाँउमा भने झण्डै शुन्यकै अवस्थामा रहेको भन्दा फरक नपर्ला जम्मा १ जना भिमफेदी गाँउपालिकाको वडा न २ की मञ्जु थापामात्रै वडा सभापतिमा निर्वाचित भईन् । अझै कांग्रेसको ४ वटा चुनाव बाँकी रहँदा पार्टीका नेतृहरुले पदाधिकारीमा खुलेर नाम दिन सकेका छैनन् । जिल्लामा जम्मा १ जना महिलाले पदाधिकारीमा नाम खुलाएकी छिन् । उनी हुन् कांग्रेसकी जिल्ला सदस्य इन्दिरा न्यौपाने ।

कोटामा सिमित हुनुपर्छ भन्ने छैन्—नेतृ न्यौपाने

नेपाली कांग्रेसकी जिल्ला कार्यसमितिकी सदस्य इन्दिरा न्यौपाने यो पटक जिल्ला कार्यसमितिको सहसचिवमा उठ्ने निधो गरेकी छिन् । उनले खुल्ला सहसचिवमा उठ्ने निधो गरेको प्रतिक्रिया दिन्छन् । लामो समयदेखि पार्टीमा सक्रिय सभागीता जनाएकी उनले अब महिला भएको कारणले कोटामा मात्रै समित नहरने दाबी गरिन् । ट्रेड युनियन मकवनापुरको जिल्ला सचिव, तरुण दलको सचिव तथा केन्द्रिय महिला विभाग केन्द्रिय सदस्य बनेसकेकी न्यौपाने सहसचिवमा उठ्ने बताएकी हुन् । ‘महिलालाई आजसम्म पदाधिकारी उठाउने निधो कसैले गरेनन्, अब आफैनै लाग्नुपर्छ भन्ने जस्तो लाग्यो’, पदाधिकारीमा महिला उठ्दैनन् भन्ने मानसिकतालाई तोड्न अब आफु लड्ने न्यौपानेले प्रतिक्रीया दिईन् । ‘पुरुषभन्दा कम छैनौ भनेर भाषण ठोक्दै गर्दा, प्रत्यक्ष रुपमा पुरुषसंगै लड्न नसक्ने हामी?’ उनले भनिन् । चुनावमा उठेसी कि जितीन्छ कि हारिन्छ त्यसैले आफु सहसचिवमै उठ्ने निधो गरिसकेको उनले सुनाईन् । आरक्षणमा मात्रै नेताहरू सीमित हुन नहुनेमा न्यौपानेको जोड छ । खुला पदमा उम्मेदवारी दिन न्यौपानले सबै महिलालाई आग्रह समेत गरिन् । आरक्षणमार्फत केही पद सुनिश्चित भए पनि नेतृत्वका लागि पर्याप्त नहुने भएकोले खुला प्रतिस्पर्धामा उत्रनुपर्ने उनको ठम्माई छ ।

पुरुषहरु नै धेरै छन्—नेतृ स्याङतान

नेपाली कांग्रेसकी जिल्ला सदस्य रहेकी मिरा स्याङतान हाल कैलाश गाँउपालिका वडा न १० की क्षेत्रीय प्रतिनिधि पनि हुन् । धेरै पुरुषहरु भएको कारण महिला पछि पर्ने गरेको उनको भनाई छ । महाधिवेशन प्रतिनिधिमा उठ्ने सोच रहेको स्याङतानले प्रतिक्रिया दिईन् । हालसम्म भने पदाधिकारीमा भने उठ्ने सोच भईनसकेको उनको भनाई छ । समय अझैपनि छ, वातावरण मिलाएर आउने प्रतिक्रिया दिईन् । पदाधिकारीमा उठ्ने भएपछि जित्ने तरिकारले नै उठ्न उपयुक्त हुने स्याङतानले बताईन् । महिलालाई आरक्षणको व्यवस्था गरे पनि त्यो पर्याप्त भने होईन । प्रमुख पदहरूमा महिलाहरू खुला प्रतिस्पर्धामा उत्रनुपर्छ भन्ने उनको भनाई त छ तर उनि आफैं पदाधिकारीमा उठ्ने अहिलेसम्म टुङगो नलागेको र वातावरण मिलाउने तरखरमा छिन् ।
कांग्रेसको विधानअनुसार केन्द्र र प्रदेश कार्यसमितिमा सहमहामन्त्री महिला हुनुपर्ने व्यवस्था छ । जिल्ला तथा पार्टीका अन्य संरचनाका कार्यसमितिमा यस्तो आरक्षण दिइएको छैन ।

महाधिवेशन प्रतिनिधिमै रहन्छु—नेतृ उपाध्याय

यता, अर्की कांग्रेसकी नेतृ अन्जना उपाध्याय महाधिवेशन प्रतिनिधिमा मात्रै समिति रहने देखिन्छिन् । तरुण जिल्ला सदस्य र हेटौंडाको क्षेत्रीय बुथ प्रतिनिधि रहेकी उपाध्याय आफ्नो इच्छाको कुरा बताँउदै क्षेत्र न १ को महाधिवेशन प्रतिनिधिमा मात्रै रहने योजना रहेको जानकारी गराईन् । अझैपनि समय रहेको कारणले पनि महिलाहरुले पदाधिकारी घोषणा नगरेका हुन उनले भनिन् । उनका अनुसार हालसम्म पदाधिकारीमा उठने लक्ष्य नरहेको र पछिको समयमा उठन् परे पछि नपर्ने समेत उनले बताईन् । यो पटक महिला नेतृहरु निकै क्रियाशिल देखिएकोले कोटा बाहेक महिला सहभागीता बढ्न सक्ने उनको अनुमान छ ।

कांग्रेसको विधान अनुसार टोलदेखि केन्द्रसम्म ८ वटा संरचना छन् । तीमध्ये टोल समिति बाहेक बाँकी ७ वटै संरचनामा कम्तीमा एक तिहाइ महिला हुनुपर्ने विधानले व्यवस्था गरेको छ । कांग्रेसको हरेक संरचनाको नेतृत्वमा महिला आउने र अन्य समावेशी कोटामा पनि सम्बन्धित जाति र समुदायका महिला आउँदा र खुला पदमा पनि महिला आउन मिल्ने भएकाले सबै संरचनामा लगभग एकतिहाइ भन्दा बढी नै महिला हुने केन्द्रीय स्तरका महिला नेताहरुको अपेक्षा छ । तर पदाधिकारी भने कम हुनेछन् । प्रदेश र केन्द्रमा एक–एक जना सहमहामन्त्री बाहेक कुनै पनि पदमा आरक्षण छैन ।

उम्मेदवारी टुङगो लागेको छैन्—नेतृ श्रेष्ठ

केन्द्रीय महिला विभागको केन्द्रिय सदस्य तथा ट्रेड युनियन जिल्लाकी महिला उपाध्याक्ष र हेटौंडा वडा न १० क्षेत्रिय प्रतिनिधि शर्मिला श्रेष्ठ पदाधिकारीको आकांक्षी छिन् । तर, कुन पदमा उठ्ने भन्ने अहिले निक्र्योल गरिनसकेको बताउँछिन् । उनले भनिन, ‘उठ्दा पदाधिकारीमै उठ्ने हो, तर त्यहि समय आएपछि बोल्नु नै उचित हुन्छ । ’ यस विषयमा महिला नेताहरुबीच र पार्टी नेतृत्वसँग छलफल गर्नुपर्ने बताईन् ।

अहिले नै उम्मेदवारी घोषणा गर्नु हतार हुने उनको भनाई छ । चाहना त सबैको हुन्छ, तर हामी महिला नेताहरूबीच सामूहिक छलफल हुनुपर्छ, पदाधिकारीका लागि तयारी गर्नु एउटा पाटो हो, अर्को चाहिं समावेशीको दलित, मधेसी, जनजाति लगायत क्लस्टरमा जान मिल्ने महिलाहरु जानुपर्छ र समग्रमा नेतृत्वमा धेरै महिला पुग्नेतर्फ पनि हामीले ध्यान दिनुपर्ने बताँउछिन् । पदाधिकारीमा महिलाको लागि सुनिश्चित पद हो, समावेशीका आठ क्लस्टरमध्ये महिला क्लस्टर । त्यसैले अधिकांशले यही कोटामा उठ्ने मनस्थिति बनाएका छन् । यद्यपि आकांक्षी भनिएका र पदाधिकारीमा उठ्न योग्यता पुगेको मानिने महिला नेताहरुबीच नै यसबारे छलफल नहुँदा कतिपय अन्योलमा देखिन्छन् भने जिल्लामा एकैजनाले मात्रै पदाधिकारीमा खुलेर नाम घोषणा गरेका छन् ।

पार्टी जिल्ला सभापति उपसभापति विभिन्न नेताहरुले सञ्चारमाध्यम मार्फत उम्मेदवारको दाबी गरिरहेकाले सभापतिको टुंगो लागेपछि मात्रै महिलाहरु आन्तरिक छलफल गरेर उम्मेदवारी घोषणा गर्ने मानसिकतामा छन् । वडाकोे क्षेत्रीय प्रतिनिधि बुथमा महिलाको अनिवार्य उपस्थित गरेको नेपाली कांग्रेस मकवानपुर जिल्लाका प्रवक्ता प्रदिप कोईरालाले जानकारी गराए । उसैपनि राजनितिमा आउन गाहे छ । त्यस माथि महिलालाई अनेकौं परिवेश मिलाएर आउनुपर्ने भएको हुँदा पदाधिकारीमा अहिलेसम्म महिलाको नाम घोषणा भएको हुन नसक्ने उनको अनुमान छ । पुरुषलाई भन्दा महिला बढी जिम्मेवार सम्हाल्नुपर्ने रहेको बताँउदै कोईरालाले पदाधिकारीमा महिलाको उपस्थिती कम देखिने गरेको प्रतिक्रीया दिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि गत भाद्र २० गते मकवानपुर जिल्लामा वडा अधिवेशन सक्किसकेको छ । अझै चार वटा तहको चुनाव बाँकीनै रहेको छ । जसमा पालिकाको असोज ९ गते हुनेछ ।