
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका समितिले गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सोमबार गाउँपालिका परिसरमा कांग्रेसका गाउँपालिका सभापति राजविर मोक्तानले अध्यक्ष हुमागाईलाई पत्र बुझाएका हुन् ।
उत्खनन् ढुङ्गागिट्टी, गढी दरवार प्रवेश शुल्क, स्थानीय उपभोक्ताले प्रयोग गरिने नदिजन्य वस्तुमा कर लगाउन पाइने छैन, विभिन्न सम्पन्न भएका योजनाका भुक्तानी पाउने बारे, सवारी पटके कर बोलपत्र आह्वान गरिएकोले त्यसको खारेजी हुनुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाइएको सभापति मोक्तानले बताए ।
यदि मागहरु कार्यान्वयन नगरिएको खण्डमा पत्रकार सम्मेलन गरि सबैलाई सुसुचित गराइने, अध्यक्षको कार्यकक्षमा ताला लगाउने, अन्त्यमा कार्यान्वयन गर्न आलटाल गरेमा गाउँपालिकाको कार्यालयमा नै ताला लगाइने र विरोध सभा गरिने सभापति मोक्तानले बताए ।
पत्र बुझेपश्चात सकेजतिको मागहरु कार्यान्वय गर्न आफु तत्पर रहेको बताउदैं गाउँपालिका अध्यक्ष हुमागाईले विधिमा रहेर काम गर्छु । कानुनभन्दा माथी हामी कोही नभएको बताउदैं सचेत गराउनु राम्रो हो, म विधिसम्मत चल्नेछु । सर्वदलीय बैठक बसी गाउँपालिकामा उठेका समस्याहरुको सबैले समाधान तर्फ लाग्नुपर्छ किनकी देशनै यी दलहरुबाट चलिरहेको अवस्था रहेको बताए ।
कार्यक्रममा जिल्ला सदस्य अर्जुन प्रसाद दहाल, प्रतिनिधि सभा क्षेत्र २ का संघीय सभापति यतिराज सापकोटा लगायत गाउँपालिकाका पदाधिकारी तथा युवाहरुको उपस्थिती रहेको थियो ।










