मुख्य खबरसमाचारफिचर

सातौं संविधान दिवसः 'हस्ताक्षर गर्नेले नै गरे संविधान उल्लंघन’

मानवी बानियाँ

हेटौंडा \ मुख्य दलहरुको सहमतिमा संविधानसभाबाट संविधान जारी भएको सातौं वर्ष लागिरहँदा संविधानमा हस्ताक्षर गर्ने दलहरुले नै संविधान उल्लंघन गरेको आरोप छ । संविधानले निर्दिष्ट गरेको बाटोमा नहिँडेर नेताहरुकै फरकफरक मत देखिन थालेका भन्दै चिन्ता व्यक्त गरिएको छ ।

यही संविधानमा आधारित भएर तीन तहका निर्वाचन सम्पन्न भए । सबै दलका जननिर्वाचित प्रतिनिधिले शासनसत्ताको अभ्यास गरिरहेका छन् । तापनि, संविधानविपरीतका बहसमा मुख्य दल र नेता सक्रिय देखिन्छ । संविधानसभाबाट संविधान जारी भएपछि संघीय संरचनाअनुसार तीन तहका सरकारले काम गरिरहेका छन् । तर, त्यही निर्वाचन जितेर स्थानीय, प्रदेश र केन्द्रमा बिभिन्न दलका नेता-कार्यकर्ताले राजकीय पद र भूमिका सम्हालिरहेका छन् । संविधानमा हस्ताक्षर गर्ने तीनै दलहरु संविधानविपरीतका विषयमा छलफल र बहसलाई मोड्न खोजिरहेको आरोप छ ।

केही समयअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्मविपरित काम प्रष्ट देखियो । ओलीले गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । तत्कालीन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चुलिएको संकटबीच प्रधानमन्त्रीले संसद्को हत्यासमेत गर्न भ्याए । यसको असर र प्रभाव के कहाँसम्म पुग्यो भने उनले सर्वोच्च अदालतले गरेको निर्णयले बार्दलीसम्म पुगेपछि थाहा पाइसकेका छन् । तत्कालीन सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धि अध्यादेशले नेकपामा तनाब चुलिएको थियो,’ एमालेबाहेकका दलको टिप्पणी छ ।

त्यसपश्चात् पनि २०७८ जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मध्यरात प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेसमेत उनले उल्लेख गरेकी थिइन् । निवर्तमान प्रधानमन्त्रीको कदमकदममा संविधानको हत्या गर्नेतर्फ राष्ट्रपति भण्डारीसमेत लागिन् । जबकि, संविधानमै धारा ७५ बमोजिम संघीय कार्यकारिणी अधिकारप्राप्त र धारा ७६ (१) ले पूर्णबहुमत प्रदान गरेको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने भनिएको छ । ६५ वर्ष पुरानो जनताको आकांक्षा पूरा भएको थियो ।

आज संविधान दिवस मनाइँदै गर्दा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्षसमेत रहेका ओलीले संविधानको हत्या गर्न खोजेको समर्थन गर्नेहरुलाई यो दिवस मनाउने अधिकार नरहेको र दिवस मनाउँदा लाज लाग्नुपर्ने भन्दै विभिन्न दलका नेताले प्रतिक्रिया दिएका छन् । कतिपयले त संविधानको व्यवस्था नै ठीक नभएको बताएका छन् ।

जुनेली श्रेष्ठ (नेकपा एमाले)
नेकपा एमाले नेतृ तथा प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठका अनुसार अध्यक्ष ओलीले जे गरे, संविधानकै अधिकार प्रयोग गरेर गरेको प्रतिक्रिया दिइन् । संसद् विघटन गरेर जनताको माझमा जाने जुन मौका थियो, त्यो सुनौलो मौका गुमेको उनले बताइन् ।

निर्वाचनको मिति तोकेर राष्ट्रपति भण्डारीले चुनाब घोषणा गरेकोमा आफ्नो समर्थन रहेको श्रेष्ठले बताइन् । नयाँ जनमत प्राप्त गरेर सरकार बन्थ्यो । तर, हालको जस्तो अदालतले प्रधानमन्त्री नियुक्त गरेर कुनै तात्पर्य छैन,’ उनको भनाइ छ । आफ्नै पार्टीका नेताहरुले गद्धार गरेको बताउँदैं संसद् विघटन गर्न बाध्य भएको उनले बताइन् । पार्टीबाटै धोकाको खेल भएको श्रेष्ठले गुनासो गरिन् ।

प्रेमबहादुर पुलामी (एकीकृत नेकपा माओवादी)
आजको दिनलाई दीप प्रज्ज्वलन गरेर र मान्छे जम्मा भएरमात्र संविधान दिवस नहुने एकीकृत नेकपा माओवादी मकवानपुर अध्यक्ष तथा प्रदेश सांसद् प्रेमबहादुर पुलामीले बताए । सबै दलहरुले साँच्चै संविधानको रक्षा गर्ने हो भने, कार्यान्वयन गर्ने हो भने, संविधानको मर्म र भावनाअनुसार कामहरु गर्नुपर्ने उनको तर्क छ । संविधानमा उल्लेख भएका कुरालाई सबै दलहरुले मान्नुपर्ने र संविधानमाथि कोही नहुने पुलामीले प्रतिक्रिया दिए । एमालेको मुलपंक्तिले संविधानलाई कोल्याप्स पार्ने खालको गतिविधि गरेको’ बताउँदै पुलामीले उनीहरुले आजको दिवसको दिन नबोल्दा नै उचित हुने बताए ।

मुनु सिग्देल (नेकपा एकीकृत समाजवादी)
एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा प्रदेश सांसद् मुनु सिग्देलका अनुसार आफूहरु संविधानको रक्षाका लागि आफ्नै पार्टीविरुद्ध खनिएको बताइन् । एमाले मकवानपुरकी निवर्तमान अध्यक्षसमेत रहेकी सिग्देलले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गरेको संविधानको उल्लंघनका कारण पार्टी विभाजिनमा पुगेको आरोप लगाइन् । आजको दिन संविधान उल्लंघन गर्दै संसद् विघटन गर्ने र उनको समर्थन गर्नेलाई दिवस मनाउने अधिकार नरहेको सिग्देलले बताइन् ।