मुख्य खबरसमाचारफिचर

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

संवाददाता

काठमाडौं \ सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरी बचत भएको पाँच अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

साथै सरकारले क्यान्सर एवम् मिर्गाैलाका गम्भीर रोग भएका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

नेकपा एमालेको अवरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गर्नुभएको हो ।  आज बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थ मन्त्री शर्माले विनियोजन विधेयक पेस गर्नुभयो । अर्थ मन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताउनुभयो ।