
प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ । एमाले सांसदको अवरोधका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो ।
ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।
शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाए । उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिए । उनले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताए । लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए ।








