
खबरबाकस \ प्रदेश प्रमुखको कार्यालय बागमतीमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बुधबार नेकपा एमालेको प्रदेश सरकार विस्तारको क्रममा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ कार्यक्रममा सूचना संकलनको लागि कार्यालय पुगेका पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको हो ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद भट्टले मुख्यद्वारमा सुरक्षाकर्मी तैनाथ गरी पत्रकारलाई प्रवेशमा रोक लगाएका हुन् । सूचना संकलनका लागि सो कार्यालय परिसरमा पुगेका पत्रकारहरुले क्यामेर गेट अगाडि राखेर धर्नासमेत दिएका थिए ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले प्रदेश प्रमुख कार्यालयका सचिवद्वारा संचारकर्मीलाई सूचना संकलनमा बन्देज लगाउने प्रयास गरिनु निन्दनीय भएको बताएका छन् । जनतालाई सुसूचित गराउन अहोरात्र खटिएका पत्रकारलाई प्रवेशमा रोक लगाउने कार्यप्रति उनले भत्सर्ना गरेका छन् ।
‘मपनि त्यहाँ पुगेको थिएँ । पत्रकारलाई प्रवेश निषेध गरेपछि म मात्रै सपथ कार्यक्रममा सहभागी भइन, बरु पत्रकारहरुसंगै धर्ना बसेँ ।’आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन र पत्रकारलाई सहजै सूचनाको पहुँचमा पुग्ने व्यवस्था मिलानसमेत अध्यक्ष गौतमले माग गरे । सपथ कार्यक्रममा नेकपा एमाले निकट युवा मोर्चा, जग्गा व्यवसायी तथा नवनियुक्त मन्त्रीहरुका आसेपासेहरुलाई प्रवेश गराइएको थियो । सञ्चारकर्मीहरु क्यामेरा सडकमा राखी धर्ना दिएपछि मात्र सपथ कार्यक्रममा प्रवेश गराइएको थियो ।








