
खबरबाकस \ बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । नवगठित नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् ।
मन्त्री खनालले मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका थिए ।
निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेललाई हटाएर एमाले नेतृ अष्टलक्ष्मी शाक्यले सपथ गरेकै दिन विस्तार गरेको ३ सदस्यीय मन्त्रीमण्डलमा खनाल मन्त्री बनेका थिए । सोही दिन उनको नाम नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाएको केन्द्रीय सदस्यको नामावलीमा थियो । औपचारिक रुपमा नेकपा एमाले टुक्रिएपछि खनालले माधव कुमार नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका थिए ।








