मुख्य खबरसमाचारफिचर

जनता आवास कार्यक्रम: १ सय ५० घर सम्झौता भई कार्यान्वयनमा

मानवी बानियाँ

हेटौंडा \ जनता आवास कार्यक्रमको लागि मकवानपुरमा १ सय ५० वटा आवासको निर्माण कार्य सम्झौता भई कार्यान्वयनमा आएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको तथ्याङ अनुसार २ सय वटा आवास निर्माणको लागि बजेट विनियोजन भएकोमा १ सय ५० वटा आवास निर्माणका लागि सम्झौता भई कार्यान्वयनमा आएको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा आवासका लागि बागमती प्रदेश सरकारले २ करोड ९९ लाख रुपैयाँ छुट्याएको थियो ।

यही रकमबाट आर्थिक रूपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबलाई निजी घरको व्यवस्था गर्न लागिएको हो । आर्थिक वर्ष ०७५/०७६ देखि संघीय सरकारले जनता आवास कार्यक्रम प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । गत आर्थिक वर्षनै यो बजेटबाट मकवानपुरमा २ सय भवन निर्माण गर्ने योजना थियो । तर, कोरोना महामारीको कारणले यो सम्भव हुननसकेको बताईएको छ । जसमा ५० वटा आवासको अझै सम्झौता कार्यान्वयनमा आउन सकेको छैन् ।

मकवानपुर चेपाङ र वनकरिया समुदायको बसोबास भएकाले आवास भवन निर्माण गर्नेको संख्या बढी छ । संघीय सरकारले २०६६/०६७ देखि अति विपन्न सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी जनता आवास कार्यक्रम ल्याएको थियो । आव २०७५/०७६ बाट उक्त कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण भइसकेको छ । मकवानपुरको ५ पालिकामा यो कार्यक्रम लागू भएको छ तर कार्यालयमा जनशक्ति कम भएका अनुगमन भने फितलो हुने गरेको छ ।

जसमा हेटौंडा उपमहानगरपालिका २९ वटा सम्झौता भई कार्यान्वयनमा आएको छ भने, बागमती गाँउपालिकामा १८ वटा, बकैया २३ वटा, मकवानपुरगढी गाँउपालिकामा ३, मनहरी गाँउपालिकामा १०, राक्सिराङ गाँउपालिकामा २५, कैलाश गाँउपालिकामा १० र भीमफेदी गाँउपालिकामा ३२ वटा संख्या सम्झौता भई कार्यान्वयनमा आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

शहरी विकास तथा भवन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा घर निर्माणका लागि चार हजार ५ सय आवेदन परेको मध्ये जिल्लामा दुई सय घर निर्माणका लागि छनौट भएको हो । ढुंगा, ब्लक वा काठको प्रयोग गरी बनाइने भूकम्प प्रतिरोधी घर निर्माणको लागि प्रदेशले प्रतिघर ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी कार्यविधि बनाएको छ । प्राप्त निवेदनका आधारमा निरीक्षण गरी आवास निर्माणको लागि योग्य परिवार छनौट गर्दै सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा बस्ने बैठकबाट अन्तिम छनौट हुने कार्यविधिमा उल्लेख छ ।

संघीय सरकारले १२ वर्ष अघि सुरु गरेको कार्यक्रमबाट मकवानपुरमा हालसम्म ९ सय ९८ वटा आवास निर्माण भइसकेको छ । संघीय सरकारले आव २०७४/०७५ मा मकवानपुरमा ५ सय घर निर्माणको योजना बनाएकोमा बहुवर्षीय योजनाअनुसार निर्माण सुरु भएका १ सय ४२ घर अझै निर्माण सम्पन्न भएका छैनन् १ सय ४२ घरको अन्तिम किस्ता बापतको १५ प्रतिशत रकम भुक्तानीकै क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जानकारी दिएको छ । ती घरहरूको निर्माण सकेर अन्तिम किस्ता बुझ्ने समयसीमा निर्धारण गरी सूचना निकाल्ने तयारी भइरहेको बताईएको छ ।

नेपालको संविधानको धारा ४२ को उपधारा २ मा आर्थिक रुपले बिपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष वर्गलाई आवासको व्यवस्थाको लागि यो कार्यक्रम नेपाल सरकारले २०७३ सालदेखि कार्यान्वयन गर्दै आईरहेकोमा आर्थिक वर्ष २०७५/०७६ देखि प्रदेशमा हस्तान्तरण भई आएकोले प्रदेश सरकारबाट कार्यान्वयन हुदै आईरहेको छ ।