
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीहरुको गुनासोलाई मध्येनजर गर्दै थप प्रविधि मैत्री सेवा प्रवाहमा जोड दिन थालेको हो । प्रशाससनले नागरिक सन्तुष्टी अभिवृद्धि गर्न नयाँ प्रयासहरु थालनी गर्ने बताएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई सेवा प्राप्तिको क्रममा प्रतिक्षा गर्नका लागि व्यवस्थित रूपमा बस्नको लागि प्रतिक्षालयको व्यवस्था गरिएको छ भने कोभिड १९ संक्रमणको जोखिमलाई दृष्टिगत गरी सेवा लिंदा सेवाग्राहीको भिडभाड हुन नदिन टोकन प्रणालीको व्यवस्था सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनु भयो ।

टोकन नम्बर बमोजिम आआफ्नो पालोमा भिडभाड नगरी सेवा लिने व्यवस्थाले सेवाग्राहीलाई सहज हुने उहाँको तर्क छ ।असक्त,अपाङ्ग,ज्येष्ठ नागरिक, गर्भवती महिलाहरूलाई प्राथमिकताका साथ छिटो भन्दा छिटो सेवा उपलब्ध गराउन कोठा नं १० मा प्रशासकीय अधिकृतलाई सम्पर्क गरी सेवा लिने व्यवस्था मिलाइएको समेत बताईएको छ । अब उनिहरुले पालोमा बस्नु पर्ने समस्या हट्ने भएकोे छ । सेवाग्राहीहरूलाई दृष्टिगत गरी कार्यालय परिसरमा फ्रि वाईफाईको व्यवस्था मिलाइनुका साथै डिजिटल डिसप्ले राखी कार्यालयसँग सम्बन्धित विविध सूचनाहरू एवं सेवाग्राहीलाई सेवा प्राप्त गर्न चाहिने आवश्यक जानकारीहरू डिसप्ले गर्ने प्रबन्ध समेत मिलाईएकोे बताईएको छ ।

सेवाग्राहीहरूलाई मध्यनजर गर्दै कार्यालयले विभिन्न स्थानमा स्वच्छ फिल्टर गरिएको पिउने पानीको प्रबन्ध मिलाउनुका साथै सेवा प्राप्तिका क्रममा नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाउन सेवाग्राहीहरूलाई सहज होस भन्ने उद्देश्यका साथ प्रभु बैंकसँगको समन्वयमा कार्यालय परिसरभित्रै प्रभु बैंकको काउन्टर स्थापना गरी बैंकिङ सेवा समेत सुरुवात गरिएको छ । वैदेशिक रोजगारिमा जाने उद्देश्यका साथ कार्यालयमा राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई लक्षित गरि सुरक्षित वैदेशिक रोजगारीका सम्बन्धमा कार्यालय परिसरभित्रै परामर्श सेवा केन्द्र स्थापना गरी नियमितरूमा परामर्श सेवा प्रदानमा थप सहजता मिलाईएको बताईएको छ ।

यस्तै कार्यालय परिसरमा स्थापना गरिएको स्तनपान कक्षलाई थप व्यवस्थित तुल्याउँदै सञ्चालनमा ल्याईएको छ । नयाँ नेपाली नागरिकता बनाउने क्रममा पेश हुन आएका अनुसूची लगायतका सम्पूर्ण कागजातहरू तत्काल स्क्यान गरी राख्ने व्यवस्था मिलाइएको समेत बताईएको छ ।यस्तै नागरिकता तथा राहदानी बनाउने क्रममा नागरिकताको अभिलेख भिडाउन अन्य जिल्लाहरुबाट प्राप्त पत्रहरूलाई प्राथमिकतामा राखी प्राप्त भएको आधा घण्टाभित्र सम्बन्धित कार्यालयमा जवाफ पठाउने व्यवस्था गरिएको छ । कार्यालयको वेबसाईट र फेसबुक पेजलाई सूचनामूलक जानकारीहरू सहित नियमित अपडेट गर्ने गरिएको छ भने कार्यालयका सूचना एवं जानकारीहरू सम्बन्धित पक्षसम्म यथाशक्य छिटो प्रवाह होस भन्ने हेतुले सूचना तथा जानकारीहरू कार्यालयको वेबसाईट, ईमेल तथा फेसबुक पेजमार्फत उपलब्ध गराउने ब्यबस्था समेत गरिएको छ ।

यस्तै कार्यालयबाट प्रवाह गरिने सेवा, कर्मचारीको व्यवहार एवं समग्र कार्यालयसँग सम्बन्धित गुनासोहरूको सुनुवाई एवं सम्बोधनको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई गुनासो सुन्ने अधिकारी तोकिएको र विभिन्न माध्यमद्वारा कार्यालयमा प्राप्त गुनासाहरू प्राथमिकताका साथ छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयत्न समेत गरिएको बताईएको छ । सेवाग्राहीले जिल्ला प्रसासन कार्यलयबाट लिने सेवा सुबिधालाई अझ ब्यबस्थीत गर्न प्रसासन कार्यलयमा केही सुधार गर्दै काम लाई छिटो छरितो बनाई नमुना कार्यलयको रुपमा अगाडी बढाउन लागी परीएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।









