
खबरबाकस \ विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका चार फरार प्रतिवादी मकवानपुर प्रहरीले पक्राउ गरेका छन्, । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैङकिङ कसुर, वन, चेक अनादर र सवारी ज्यान मुद्धाका एक/एक गरी ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
बैङकिङ कसुर मुद्धामा फरार प्रतिवादी राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने कौशिमाया स्याङतानलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइर्तबार पक्राउ गरिएको हो । उच्च अदालत पाटन हेटौंडाको फैसलाले स्याङतानविरुद्ध १० दिन कैद र ४ लाख १८ हजार २५० रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
बकैया गाउँपालिका वडा नम्बर ६ बस्ने गंगा लामा वन मुद्धामा परि फरार रहेका थिए । उनलाई प्रहरीले शनिबार हेटौंडा उपमहानगरपालिका वडा ५ बाट पक्राउ गरिएको हो । उनीविरुद्ध जिल्ला अदालत हेटौडा र उच्च अदालत पाटन हेटौडाको फैसलाले ३ लाख ५७ हजार ६४० रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
यसैगरी चेक अनादर मुद्धामा बकैया गाउँपालिका वडा नम्बर ३ बस्ने शीव बहादुर खुलाललाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई जिल्ला अदालत मकवानपुरको फैसलाले दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने दशरथ अर्याललाई प्रहरीले आईतबार हेटौंडा–७ बाटै पक्राउ गरेको हो । अर्याललाई जिल्ला अदालत चितवनको फैसलाले सवारी ज्यान मुद्धामा दुई हजार रुपैयाँ जरिवाना तिर्न भनेको थियो । पक्राउ परेका चारै जनालाई कैद र जरिवाना भुक्तानको लागी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले बताउनुभयो ।








