
खबरबाकस \ बागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ । शुक्रबार बिहान ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेको हो ।
बैठकले शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो बैठक मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको दोस्रो मन्त्रिपरिषद्को बैठक हो ।
मन्त्रिपरिषद्को बैठकेले गरेको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अधिवेशन अन्त्य भएको पत्रमा हस्ताक्षर गर्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् । तत्कालीन डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारकारले प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गतेबाट सुरु गरेको थियो । यस अधिवेशनमा नेकपा एमालेले पार्टी एकताका लागि सन्देश दिनेभन्दै नीति तथा कार्यक्रम र बजेट पास सहमित पास गरेको थियो ।








