
हेटौंडा \ ‘प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६’, लागु भएसंगै उद्योग दर्ता गर्ने संख्या बढ्दो छ । बागमती प्रदेश सरकारले यो ऐन लागु गरेसंगै मकवानपुर जिल्लामा उद्योेग दर्ता बढ्दो अवस्थामा रहेको एक तथ्याङले देखाएको छ । बागमती प्रदेशमा संचालित उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गरी उत्पादन तथा रोजगारी श्रृजना गर्न सहुलियतपुर्ण व्याजदरमा ऋण उपलब्ध गराउन सहुलियतपुर्ण ऋण लगानी कार्यविधि, २०७७” असोज १५ गतेबाट लागु हुने व्यवस्था गरेको थियो । जसअनुसार देहायका क्षेत्रमा १० लाखसम्मको ऋण लगानी हुने बताईएको छ । त्यो अनुसार नै जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा उद्योग संख्यामा वृद्धि भएको तथ्याङले देखाएको छ ।
१०४ प्रतिशतले राजश्व संकलनमा वृद्धि
जिल्लामा गत आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो आर्थिक वर्षमा २०७६/०७७ को तुलनामा भन्दा १०४ प्रतिशतले राजश्व संकलन भएको कार्यालयको तथ्याङले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड २४ लाख राजश्व संकलन भएको थियो भने, गत आर्थिक वर्षमा ५ करोड ३ लाख रुपियाँ संकलन भएको कार्यालय प्रमुख जगनाथ दाहालले जानकारी गराए । उद्योग दर्ताकै कारण राजश्व संकलन हुन गएका दाहालको भनाई छ । जसमा गत आर्थिक वर्षमा १ हजार ६ सय ९८ वटा उद्योग दर्ता भएको थियो भने, अघिल्लो आर्थिक वर्षमा १ हजार २ सय ६४ दर्ता भएका छन् । उद्योग, व्यापार व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारको कोसेलीले उद्योग दर्तामा आकर्षण बढ्दै गएको दाहालले जानकारी गराए । अहिले कार्यालयमा पाँच लाख रुपैयाँ भन्दा बढी पाँच करोड रुपियाँसम्मका उद्योगहरु दर्ता हुँदै आएका छन् ।
पसल दर्तामा कमी
घरेलु तथा साना उद्योग कार्यालयमा भने पसल दर्तामा कमी आएको छ । प्रदेश सरकारले ‘प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६’, ल्याँएसंगै पसल दर्तामा भने कमी आएको कार्यालयको तथ्याङ उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ५ सय ४ वटा पसल दर्ता भएको छ भने गत आर्थिक वर्ष २०७७/०७८ मा ८ सय २ वटा पसल दर्ता भएका हुन् । ऐन लागु भएसंगै गाँउपालिका र नगरपालिकाबाट ५ लाख रुपैयाँका पसलहरु दर्ता हुनेभएपछि कार्यालयमा पसल दर्ता कमी आएको दाहालको भनाई छ । अहिले स्थानिय तहका साना-साना व्यापारिहरुलाई यो ऐन लागु भएपछि निकै सहज बनाईदिएको उनको भनाई छ ।
प्रविधि हस्तान्तरणमा वृद्धि
कार्यालयले अघिल्लो आर्थिक वर्षमा २०७६/०७७ मा भन्दा गत आर्थिक वर्ष २०७७/०७८ मा प्रविधि हस्तान्तरणमा समेत बढाएको छ । जति धेरै उद्योग दर्ता उतिनै धेरै प्रविधिको आवश्यक पर्ने भएकोले स्वतं प्रविधि हस्तान्तरण बढ्न गएको कार्यालय प्रमुख दाहालको भनाई छ । अघिल्लो आर्थिक वर्षमा ३२ वटा प्रविधि हस्तान्तरण गरेकोमा १६ लाख ३८ हजार रक खर्च गरिएको थियो भने, गत आर्थिक वर्षमा त्यो संख्या बढेर ५६ वटा प्रविधि हस्तान्तरणमा २८ लाख खर्च भएको देखाएको छ । ८० दशमलव २० प्रतिशत लागत सहभागितामा हस्तान्तरण गरिएको हो ।
पुँजीगत निर्माणको चरण ७४ प्रतिशतले सम्पन्न
औद्योगिक सामाग्री तथा उद्योगका सामानहरु सहजता पुर्वका आयात र निर्यात गर्नको निमित्त भवन निर्माणको लागि गत आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले ७७ लाख बजेट छ्टाएको थियो, जसमा ५७ लाख ४७ हजार बराबरको निर्माण कार्य सम्पन्न गरेको छ । हेटौंडा-१३ र थाहा नगरपालिका ११ मा साझा सुविधा केन्द्र भवन निर्माण गरिएको छ । २० लाख बजेट रहेको उक्त भवनको निर्माण कार्य ९५ प्रतिशतले सम्पन्न भएको कार्यालयको तथ्याङमा उल्लेख छ । त्यस्तै राक्सिराङ गाँउपालिका बजार घर निर्माण कार्यको लागि ७ लाख बजेट छुट्याईएकोमा ९४ प्रतिशत काम सम्पन्न भएको छ । यता थाहा वडा-नं.४ मा समेत घरेलु उजप तथा औद्योगिक सामाग्री विक्री घर निर्माण कार्य ६३ प्रतिशतले सम्पन्न भएको कार्यालयको तथ्याङले देखाएको छ । ५० लाख बजेट रहेकोमा ३१ लाख ८४ हजार रकममात्रै खर्च भएको छ ।
१ सय १५ जना प्रशिक्षार्थी तालिमबाट लाभान्वित
गत आर्थिक वर्ष २०७७/२०७८ मा सीपमुलक तालीमबाट १ सय १५ जना नव व्यवसायीहरु तालिमबाट लाभान्वित भएको कार्यालयका प्रमुख दाहालले जानकारी गराए । जसमा हेटौंडा १ मा मखमल/ढाकाको जुत्ता चप्पल बनाउने तालीमा २० जनाको सहभागीता रहेको थियो । गलैंचा/कार्पेट निर्माण तालीममा २० जना, डिमेगासंगको सहकार्यमा नयाँ उद्यमी श्रृजनामा ५० जनाको सहभागिता, डिमेगासंगको सहकार्यमा स्तरोन्नती तालीममा २५ जनाको सहभागीतामा गरिएको थियो । उक्त तालिमहरुको लागि १९ लाख ८८ हजारको बजेट रहेकोमा १५ लाख ३० हजारमात्रै खर्च भएको दाहालको भनाई छ । कोरोनाको कारणले पनि प्रशिक्षार्थीहरुको सहभागीतामा कम आएको हुन सक्ने उनको आंकलन रहेको छ ।








