मुख्य खबरसमाचारफिचर

लागुऔषध ओसारपसार चलायमान

एक वर्षको अवधिमा एकसय ५१ पक्राउ

संवाददाता

हेटौंडा \ एक वर्ष अघिपनि यहि समयमा मकवानपुर जिल्लामा निषेधाज्ञा जारी थियो । यो एक वर्षको अवधिमा धेरै व्यवसायीहरु थन्केर बसे । बीचमा चलायमान त भएको थियो तर कोरोना लहरको दोस्रो लहरले फेरी थन्कायो । यता, लागुऔषध ओसारपसारमा भने चलायमान भईराखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङले देखाएको छ ।
गत आर्थिक वर्ष २०७७\०७८ असार मसान्तसम्म एकहजार सातसय ८३ किलो, ६ हजार नौसय ९३ ग्राम र मिग्राम सातसय ४० गाँजा बरामद गरेको हो । २२ किलो, एक हजार पाँचसय ५८ ग्राम, मि.ग्राम तीनसय ९८ गरि चरेश बरामद कार्यालयको तथ्याङमा छ । खैरोहिराईन एकसय १४ ग्राम, पाँचसय ५२ मिनिग्राम १४ किलो सातसय २५ ग्राम अफिम बरामद गरेको छ ।

नाईट्रोभेट ट्याबलेट सात हजार तीनसय ४७, डाईजेपाम तीनसय नौ, फेनारगन दुईसय नौ, नोर्फिन तीनसय सात, कोरेक्स बोतल दुईसय ९६ बरामद गरेको हो । जसमा नेपाली पुरुष एकसय ३९ र महिला नौ जना गरि एकसय ४८ जना पक्राउ परेका थिए । त्यस्तै भारतीय पुरुष भने तीन जना पक्राउ परेको थियो । मुद्धा संख्या भने एकसय ९९ जनालाई चलाईएको थियो ।

कोरोनाको समयमा पनि लागुऔषध कारोबार चलायमान भईराखेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्यर रिमालले जानकारी गराए । यो अवधिमा सबैभन्दा बढी गत आर्थिक वर्ष असार १ गते मंगलबार राति करिब १० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.२ ख ५५७९ नम्बर कन्टेनरबाट १२ वटा पोकामा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम फेला पारेको हो ।

गाडीचालक मकवानपुरको मनहरी गापा वडा–६ बस्ने वर्ष २५ का सन्तोष आलेमगर, सहचालक वर्ष २१ का मोसा घलान र कन्टेनरमा सवार मकवानपुरको कैलाश गापा वडा–८, भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धान गर्दा उक्त गाँजा कारोबारमा थप संलग्न व्यक्ति चितवनको राप्ती नपा वडा–२ बस्ने वर्ष ३१ का विष्णु लामा र मकवानपुरको कैलाश गापा वडा–८ बस्ने वर्ष २९ का रोशन मुक्तान रहेको पुष्टि भएपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।

हेटौंडा–११, थानाभ¥याङस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा कन्टेनर रोक्न खोज्दा फरार भएपछि प्रहरीले पिछा गर्दै हेटौंडा–१०, भुटनदेवी मोडस्थित सडकखण्डमा फेला पारेको थियो । कन्टेनर चेक गर्दा चालक सिटपछाडि फल्स बटम बनाएर गाँजा लुकाइएको फेला परेको थियो ।

गत आर्थिक वर्ष जेष्ठ ४ गते निषेधाज्ञाको समयमा एक क्विन्टल गाँजासहित हेटौंडा–१ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार भीमफेदी गाउँपालिकाको नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना२ख ९८६२ नम्बरको ट्रकबाट गाँजा बरामद गरिएको थियो । ट्रक जाँच गर्दा हुटमा फल्स बटम बनाएर लुकाएको अवस्थामा गाँजा बरामद भएको थियो । पक्राउ पर्नेमा ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका–५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका–१० का ३६ वर्षीय सुविन रुम्बा रहेका थिए । यो अवधिमा सुधार केन्द्रका सञ्चालक समेत लागुऔषध सहित पक्राउ परेको थियो ।