
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भए सँगै बुधबार राति नै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बुधबार दिउँसो संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको थियो ।
को हुन् पहिलो महिला मुख्यमन्त्री शाक्य
नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा छ । २०३६ सालमा घर छोडेर भूमिगत राजनीतिमा होमिएकी शाक्य नयाँ नेतृहरूको प्रेरणाकी स्रोत पनि हुन् ।
घरमा विवाहको कुरा चल्दा उनले भूमिगत राजनीति रोजेकी हुन् । २०१० सालमा महाअष्टमीका दिन शाक्यले जन्म लिएकी थिइन् । चित्रबहादुर र कुलमायाको कोखबाट उनको जन्म भएको हो । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएकी उनले सहजसँग शिक्षादिक्षा र विलासी जीवन बिताइन् । सुन व्यापार गर्दै आएको शाक्य परिवारले उनको हरेक इच्छामा साथ दिएको स्वयम् शाक्य बताउँछिन् ।
उनले २०२८ सालमा एसएलसी पास गरेकी थिइन् । किशोरी अवस्थामै आफूलाई राजनीतिक चेतना जागेको उनी बताउँछिन् । चिनियाँ भाषा सिक्ने अवसरले उनलाई राजनीतिमा आउन प्ररेणा मिलेको थियो । एसएलसी दिएपछि उनी चिनियाँ भाषा सिक्ने काममा लागेकी थिइन् ।
चिनियाँ भाषा सिकेपछि उनले चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको सुनाइन् । ‘चिनियाँ नेताहरूको किताब पढेपछि नेपालमा पनि परिवर्तन गर्नुपर्छ भन्ने लागेपछि राजनीतिमा आएकी हुँ,’ उनले भनिन् । लुकिछिपी राजनीति गरिरहेकी शाक्यलाई घरमा कडाइ गर्न थालिएको थियो ।
घर बाहिरको हिँडडुलमा कडाइ गर्न थालेपछि अन्ततः शाक्य भूमिगत राजनीतिमा होमिएकी थिइन् । घरमा विवाहको कुरा चल्न थालेपछि उनले भूमिगत हुने निर्णय लिएको बताइन् । ६ पुस २०३६ सालमा उनले घर छोडेर हिँडेकी थिइन् । शाक्यले २०३६ देखि ०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आएकी थिइन् । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला संघको नेतृत्वसमेत गरिन् ।
शाक्यले जेल जीवन पनि बिताएकी छन् । महिला संघको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताएकी हुन् । २०४६ सालमा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला शाक्यसहित अन्य थुप्रै नेताहरू पक्राउ परेका थिए । उनले जेल जीवन बिताउँदा झापामा सिस्नुपानी लगाएको बताइन् । प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेकी शाक्य २०४६ सालमा देशमा बहुदल स्थापना भएपछि जेल मुक्त भएकी थिइन् ।
पार्टीको पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट एमालेको उपाध्यक्ष बनेकी थिइन् । उनी केन्द्रीय सरकारको दुई पटक मन्त्री भइसकेको छन् । भूमिगत राजनीतिकै क्रममा चिनजान भएका अमृत बोहरासँग शाक्यले विवाह गरेकी हुन् । शाक्यसहित बोहरा अहिले पनि राजनीतिमा सक्रिय छन् ।
-नवीन तिमल्सिना शिलापत्रबाट साभार








