
हेटौंडा \ मकवानपुरको मनहरी गाउँपालिकामा नियमित रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन हुने भएको छ । मनहरी गाँउपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएपछि मनहरीमा नियमित सामुदायिक आँखा केन्द्र सञ्चालन हुने भएको हो ।
हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीबिच सोमबार सामुदायिक आँखा केन्द्र सञ्चालनका लागी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले मनहरीमा नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्दै आएको थियो ।
सोही आँखा केन्द्रलाई स्तरोन्नती गरी दैनिक रुपमा आँखा केन्द्र संचालनमा ल्याउन लागिएको सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिए । आँखा केन्द्र सञ्चालनका लागि दुईजना कर्मचारीको खर्च सहित अन्य व्यवस्थापन खर्च मनहरी गाउँपालिकाले उपलव्ध गराउने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
अस्पतालका प्रमुख डा. सुनिल थकालीले हेटौंडा सामुदायिक आँखा अस्पतालबाट स्थापना भएको पहिलो सामुदायिक आँखा केन्द्र दैनिक रुपमा सञ्चलान हुँदा यस क्षेत्रका विरामीहरुलाई थप लाभ हुने विश्वास व्यक्त गरेका छन् ।








