मुख्य खबरसमाचारफिचर

उद्योग संघद्धारा हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमण बृद्धि भए सँगै अक्सिजन अभावलाई कम गर्न उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो ।

निजी क्षेत्रका उद्योगी, व्यावसायीहरुको सहयोगमा उद्योग संघ मकवानपुरले प्लान्ट खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त अक्सिजन प्लान्ट बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरी अक्सिजन उत्पादन सुरु गरिएको छ । प्लान्टबाट दैनिक ११५ देखि १२० सिलिण्डर सम्म अक्सिजन उत्पादन हुने अस्पताल स्रोतले जनाएको छ ।

३१ जना सहयोगी हातहरुबाट संकलित रकमबाट उद्योग संघ मकवानपुरले एक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा प्लान्ट खरिद गरीएको संघका अध्यक्ष लेखराज पोख्रेलले बताउनुभयो । यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिसकेको छ ।