मुख्य खबरसमाचारफिचर

स्थानीय तहहरुबाट बागमती प्रदेशलाई पौने ९ अर्ब

संवाददाता

हेटौंडा \  बागमती प्रदेशका स्थानीय तहहरुले बितेको आर्थिक वर्ष २०७७/७८ मा आफूले संकलित विभिन्न ३ किसिमका करबापत पौने ९ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । घरजग्गा रजिष्ट्रेशन दस्तुर, दहत्तर बहत्तर (ढुङ्गागिट्टी बालुवा) निकासी कर, विज्ञापन कर र मनोरञ्जन कर गरी स्थानीय तहहरुले बाँडबाँटबाट ८ अर्ब ७३ करोड ५१ लाख ८० हजार रुपैयाँ प्रदेशलाई पठाएका हुन् ।

स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम प्रदेशलाई दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही अनुरुप बागमती प्रदेशका एक सय १९ वटै स्थानीय तहहरुले आफूले उठाएको करबापत बाँडफाँड गरी प्रदेश सञ्चित कोषमा रकम जम्मा गरिदिएका हुन् ।

बितेको आर्थिक वर्षमा बागमती प्रदेश सरकारलाई घरजग्गा रजिष्ट्रेशन दस्तुरबापत ७ अर्ब ७९ करोड ७६ लाख २६ हजार रुपैयाँ बाँडफाँडबाट प्राप्त भएको छ । प्रदेशले घरजग्गा रजिष्ट्रेशन दस्तुरबापत ५ अर्ब ५० करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखेकोमा लक्ष्यभन्दा २३ दशमलव ५९ प्रतिशत बढी रकम बाँडफाँडबाट प्राप्त भएको हो ।

त्यसैगरी वर्ष दहत्तर बहत्तर बिक्रीबाट २ अर्ब ५ करोड रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा ८८ करोड ५२ लाख ६३ हजार रुपैयाँ अर्थात अनुमानको ४३ प्रतिशत रकम मात्र बाँडफाँडबाट प्राप्त भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कोरोना महामारीका कारण मनोरञ्जनको क्षेत्र पूर्णतया ठप्प हुँदा मनोरञ्जन कर लक्ष्यको ० दशमलव ६४ प्रतिशत मात्र प्रदेशले प्राप्त गरेको छ । १५ करोड रुपैयाँ मनोरञ्जन कर संकलन गर्ने लक्ष्य लिइएकोमा ९ लाख ६३ हजार रुपैयाँ मात्र प्राप्त भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी एवम् लेखा अधिकृत राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै १५ करोड रुपैयाँ विज्ञापन कर संकलन गर्ने लक्ष्य लिइएकोमा ५ करोड १३ लाख २८ हजार रुपैयाँ अर्थात कुल अनुमानको ३४ दशमलव २२ प्रतिशत रकम प्रदेशले प्राप्त गरेको लेखा अधिकृत पाण्डेले बताए ।-प्रदेशसञ्चारबाट