मुख्य खबरसमाचारफिचर

देशभर ‘समानान्तर’ सङ्गठन विस्तार गर्न माधव नेपालको निर्देशन

संवाददाता

नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै आगामी भदौ २७ र २८ मा विधान महाधिवेशन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

ओली पक्षले पार्टीको सङ्गठनात्मक संरचनामा समेत उथलपुथल आउने गरी विधान संशोधनको मस्यौदालाई एकतर्फी रूपमा अगाडि बढाएपछि वरिष्ठ नेता माधव नेपाल थप आक्रोशित बन्दै आफ्नो पक्षका नेता कार्यकर्ताहरूलाई देशभर स्थानीय तहदेखि केन्द्रसम्म भेला, प्रशिक्षण सञ्चालन गर्नुका साथै समानान्तर पार्टी कमिटीहरू निर्माण र विस्तार गर्न निर्देशन दिएका छन् ।

सोमबार ओली पक्ष एकतर्फी ढङ्गले अघि बढ्ने निर्णय गरेपछि नेता नेपालले आफू पक्षीय केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँगको छलफलमा निर्देशन दिएका हुन् ।