मुख्य खबरसमाचारफिचर

५४ प्रतिशतले बढ्यो सवारीसाधनको कारवाही

अटेरी ट्रक: क्षमता २१, बोक्छन् ३६ टन

मानवी बानियाँ

हेटौंडा \ पछिल्लो समय सवारी साधन कारवाही बढ्दो अवस्थामा छ । कोरोना महामारी फैलिएसंगै सरकारले गरेको निषेधाज्ञाको कारण सावरी साधनहरु कारवाहीमा पर्ने गरेको हो । जति सर्वसाधारणले निषेधाज्ञाको उल्लघंन गर्दै जान्छन् त्यतिनै कारवाही संख्या बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भन्दा गत आर्थिक वर्ष २०७७/०७८ मा ५४ प्रतिशतले सवारीसाधन कारवाहीमा परेको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

गत आर्थिक वर्षको सुरुवाती चरणमा नै निषेधाज्ञा भएको र अन्तिम महिनामा समेत कडाईका साथ भएकोले कारवाही संख्यापनि बढ्दो रहेको कार्यालयले जनाएको छ । निषेधाज्ञासंगै सवारी कागजपत्रको चेकजाँचमा समेत तिव्रता बढाएको कार्यालयका प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले जानकारी गराए । सवारी दुर्घटना नबढुन र सरकारले तोकेको निषेधाज्ञाको पालना गरुन भनेर अहिलेको समयले माग गरेसंगै आफुहरु कारवाहीको दायरामा खटिरहेको नेपालले प्रतिक्रिया दिए । दैनिक सवारी साधनहरु १० देखि २० वटा सम्म कारवाही गरिरहेको नेपालले जानकारी गराए ।

३२ हजार दुईसय ३० सवारीसाधनलाई कारबाही
अघिल्लो आर्थिक वर्षमा १७ हजार चारसय सावारी साधन कारवाहीमा परि १ करोड २४ लाख ७५ हजार राजश्व संकलन गरेको थियो भने, गत आर्थिक वर्ष २०७७÷०७८ मा ३२ हजार दुईसय ३० सवारीसाधनलाई कारबाही गर्दै ट्राफिक प्रहरीले २ करोड ७१ लाख राजस्व संकलन गरेको छ । मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने, सवारीचालक अनुमतिपत्र बिना सवारीसाधन चलाउने जस्ता ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही स्वरुप प्रहरीले जरिवाना गर्ने गरेको नेपालले जानकारी गराए । ५ हजार ४ सय ७५ वटा कार÷जीपलाई कारबाही गरेर ४१ लाख ११ हजार रुपियाँ राजस्व संकलन गरिएको छ ।

७ हजार ९ सय ९५ मोटरसाइकललाई कारबाही गरेर ६६ लाख ४९ हजार रुपियाँ राजस्व संकलन भएको छ भने २ हजार १ सय ३५ बसलाई कारबाही १९ लाख १७ हजार रुपियाँ राजस्व संकलन गरिएको छ । त्यस्तै २ हजार ३ सय ७३ वटा टेम्पो तथा मयुरीलाई कारवाही गरेर १६ लाख ४३ हजार रुपियाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीले १ हजार २ सय १८ वटा ट्रयाक्टरलाई कारबाही ९ लाख ८९ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।

अटेरी ट्रक, क्षमता २१, बोक्छन् ३६ टन
सवारीसाधनमध्ये सबभन्दा बढी निमय उल्लंघन गरेर हिँड्ने सवारी ट्रक तथा टिपर रहेको जिल्ला ट्राफिक कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयको गत आर्थिक वर्ष २०७७÷०७८ को तथ्यांक अनुसार क्षमताभन्दा बढी सामान बोक्ने ट्रक तथा टिपर रहेको देखाएको हो । जसमा १३ हजार ३४ ट्रक तथा ट्रिपर तथा ट्यांकर कारबाहीमा परेका छन् । कारवाहीवापत् १ करोड १७ लाख ९६ हजार रुपियाँ संकलन भएको छ । क्षमताभन्दा बढी सामान बोकेर हिँडेका सवारीसाधनका कारण सडक बिग्रने र दुर्घटना बढी हुने भएकोले त्यस्ता सवारीसाधनलाई कारबाही गरिएको हो । मालबाहक सवारीसाधनले २१ टनभन्दा बढी सामान बोक्न नपाउने भए पनि ती सवारीसाधनले ३६ टनसम्म बोकेका कारण उनीहरुलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अन्य सवारी भन्दा ट्रक, ट्रिपर र ट्यांकरले नियम उल्लंघन गर्ने गरेको पाइन्छ ।