
खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शनिबार पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा प्रजातान्त्रिक सामुदायिक पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय अभियान समूह मकवानपुरले शनिबार पुस्तकालयलाई ५० हजार रुपैयाँ बराबरको १ सय ५१ थान पुस्तक हस्तान्तरण गर्नुका साथै पुस्तकालय उद्घाटन गरिएको हो ।
प्रजातान्त्रिक सामुदायिक पुस्तकालयका संयोजक भोलानाथ दाहालको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको प्रमुख आतिथ्यमा भएको पुस्तकालय उद्घाटन कार्यक्रममा मकवानपुुरगढी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्य रहेको थियो ।
पुस्तकालय उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले पालिकाका सबै वडामा पुस्तकालय स्थापना गर्न पालिकाले चालु आर्थिक बर्षमा योजना बनाएको बताए । बालमैत्री पालिका घोषणा भएपछि हरेक वडामा बालउद्यान निर्माणसँगै बालउद्यान परिसरमै पुस्तकालय पनि स्थापना गर्ने योजना रहेको पुडासैनीले जानकारी दिएका छन् ।
यसअघि अभियानले मकवानपुर जिल्लाका विभिन्न स्थानमा ५ वटा पुस्तकालय स्थापना गरिसकेको छ । जिल्लाका सवै पालिकामा पुस्तकालय स्थापनापछि वडा तहमा पुस्तकालय अभियान सञ्चालन गरिने बताइएको छ ।
पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य रमेशप्रसाद लामिछाने, वरिष्ठ पत्रकार प्रताप विष्ट, अभियान समूहका सदस्य कैलाश धिताल पुस्तकालय अभियान समूहमा आवद्ध भई हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, हेटौंडा–६ का भीमसेन पौडेल, केशव धिताल, पूर्णभद्र चौलागाई, राजु गुरुङ, देवराज गौतम, विजय पौडेल, र भरत सापकोटाहरुको सहभागिता रहेको थियो ।
गत जेठ २९ गते हेटौंडा–७, नागस्वतीमा समृद्ध पुस्तकालय स्थापना गरेर सुरु भएको अभियानले हेटौंडा–६ मा शान्ति पुस्तकालय, बकैया गाउँपालिकामा बकैया सार्वजनिक पुस्तकालय, भीमफेदी गाउँपालिकामा ज्योति पुस्तकालय र मनहरी गाउँपालिका–७, मनहरी बजारमा मनहरी सामुदायिक पुस्तकालय स्थापना गरिसकेको छ ।








