
भक्तपुर \ नेवार समुदायले आज घर घरमा भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन। साउन शुक्ल चतुर्दशीका अवसरमा घर र परिवारलाई भूतप्रेतले छुन नसकोस् भनेर गँठेमंगाः चर्हे दिन नेवार समुदायले काँचो माटोको सानो दहीको कटारोमा कर्कलो, धुँ स्वाँ, बौ स्वाँ, मकै, आरुको बोटको हाँगा, भुसको ढुटो, जाँडको कट राखेर त्यसलाई छ्वास, दोवाटो वा चौबाटोमा लगेर राखिन्छ। जसलाई बौ वाय् ज्या (भूत मन्छाउने) कार्य भनिन्छ।
आजैको दिन घरको मुल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीन खुट्टै फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ। घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाइदिने चलन पनि छ।
आजको दिन भक्तपुरका टोलटोलबाट नर्कट र छ्वालीका विभिन्न स्वरुपका मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोकचोकमा ठ्ड्याइन्छ। त्यसका लागि जगात उठाउने प्रचलन रहेको छ। साँझ बाजागाजाकासाथ राक्षसको प्रतीक नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोला र नगर बाहिर लगेर जलाइन्छ। जलाइसकेपछि गाइजात्रालाई स्वागत गरी घिङताङघिसिको तालमा नाचेर फर्किने प्रचलन रहेको छ। साँझ नै घरघरबाट छ्वालीको चिराग बालेर छ्वास, दोबाटो वा चौबाटोमा लगेर सेलाइन्छ।
परापूर्वकालमा आजको दिन टोलमा दुःख दिने राक्षसलाई समातेर जनताले दिनभर चोकमा उभ्याएर साँझ खोलामा लगेर फालिएको सम्झनामा घण्टाकर्ण पर्व मनाउँदै आएको संस्कृतिकर्मी ओमप्रकाश धौभडेलले बताए। लिच्छविकालदेखि मनाउँदै आएको यो चाडलाई नेवार समुदायले वर्षको पहिलो चाडको रुपमा पनि मनाउने धौभडेलले बताए। आजको दिनदेखि देवीदेवताहरु धर्तीमा सिद्ध हुने भएकाले महादेवको परमभक्त राक्षस घण्टाकर्णलाई नदी नालामा सेलाएर घरपरिवारलाई भूतप्रेतबाट जोगाउने चाडको रुपमा मनाउने परम्परा छ।
नेवार समुदायले आजको दिनलाई ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ सकिएको) पर्वका रुपमा पनि मनाउने गर्दछ। नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गर्दछन्। रोपाइँ सके पनि अन्य दिन सिनाज्या ब्यंकेगु पर्व मनाउन नभ्याएका परिवारले आजको दिन यस पर्व मनाउँछन्।
आजकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ।








