मुख्य खबरसमाचारफिचर

मकवानपुरगढीमा ६० वर्षदेखि कपडा सिलाएका गणेशबहादुर, जो बित्ता र अम्मलले कपडा नाप्छन्

संवाददाता

उमेरले ७५ वर्ष टेकेका एक वृद्ध घर बाहिर आगनमा कपडा सिलाइरहेका हुन्छन् । उनको दैनिकी नै कपडा सिलाउने हो ।

उमेरले बुढ्यौली लागिसके । उनका हात कपडा सिलाउने मेसिनमा जोतिएको ६० वर्ष भइसक्यो । गाउँलेले आराम गर्न सुझाव पनि दिन्छन् । तर, उनको मन मेसिन छोड्न मान्दैन् । ‘मैले १५ वर्ष हुँदादेखि नै कपडा सिलाउन थालेको हो । कपडा सिलाएर पेट पालेको ६० वर्ष भइसक्यो । अहिले छोड्न मनले नै मान्दैन्,’ मकवानपुरगढी गाउँपालिका– ५, का स्थायी बासिन्दा गणेशबहादुर परियार सुनाउँछन् ।

उनले बाबुबाजेकै पेशा अँगालेका हुन् । ललितपुरको विकट गाउँ प्युटारमा जन्मिएका परियारले कर्मथलो मकवानपुरलाई बनाए । बुढेशकाल लागिसके पनि कपडा सिलाउने कामबाट कहिल्यै अल्छी नलागेको उनी बताउँछन् । ‘बा-आमाले काम गरेर खानुपर्छ भनेर सानैदेखि सिकाउनु भयो । सानैबाट कपडा सिलाउने काम गरेँ । पेट नै यही कामबाट पालेको भएर होला, कपडा सिलाउन कहिल्यै अल्छी लागेन । ७५ वर्ष हुँदा त सिलाइराछु,’ परियार भन्छन् ।

परियार कपडा सिलाउन यति माहिर छन् की उनलाई इञ्चटेपको आवश्यकता नै पर्दैन । ‘कपडा सिलाउँदा सिलाउँदै हात र औँलाको नापो इञ्जमा नाप्ने भइसकेँ । मलाई इञ्चटेप नै आवश्यक पर्दैन । हातले नै नापेर कपडा काट्छु,’ उनले सुनाए । हातको सहारामा कपडा सिलाए पनि हालसम्म ग्राहकले कुनै गुनासो नगरेको परियार बताउँछन् । गणेशबहादुर औँलाको बित्ता र अम्मलले कपडा नाप्छन् ।

‘बित्ता र अम्मल नापेर कपडा सिलाउन अहिलेसम्म फरक परेको थाहा छैन । ग्राहकले पनि गुनासो गरेका छैनन्,’ उनले भने । ‘२ बित्ता ८ अम्मलले नाप्दा २२ इञ्च हुन्छ । त्यस्तै चोलीको धुरा राख्न १० अम्मललाई १४ इञ्चको गणना गर्छु । कठालोमा एक बित्ता २ अम्मल चाहिन्छ,’ हातको नापोबारे सुनाए । खानदानी पेशा आँगालेका उनले राष्ट्रिय पोसाक दौरा सुरुवाल, कमिजलगायत नेवारी पोशाक हाकुपटासी, चोली, पछ्यौरी सिलाउने गर्छन् ।

बिहान उठेर चिया खाएदेखि साँझसम्म सिलाई मेसिनमै खटिन्छन् उनी । बुढेशकालमा आँखा कमजोर हुँदै गएपछि उनले घरको आगनमा सिधा उज्यालो पर्ने भएकाले मेसिन राखेर कपडा सिलाउने गरेको बताए । परियारले भने, ‘मैले सानो छँदै कपडा सिलाउन सिकेँ । यसैबाट छाकटार्दै आएको छु । बुढेशकाल लागे पनि काम गर्न मन लाग्छ ।’

उनले कपडा सिलाएरै १० सन्तान हुर्काए । थोरै रुपैयाँ ज्यालाबाट कपडा सिलाएर पनि उनले १० सन्तानलाई पढाएको बताउँछन् ।

श्रीमती मनमायाको कोखबाट ७ छोरा र ३ छोरी जन्मिए । जेठा छोराछोरीले धेरै पढ्न नसके पनि पछि जन्मिएका छोराहरूले चाहे जति पढेको गणेशबहादुर बताउँछन् । ‘छोराछोरी १० जना छन् । उनीहरूलाई हुकार्उन, पढाउन पनि कपडा सिलाउनुको विकल्प थिएन । त्यही पनि सानोबाटै गर्दै आएको काम कहाँ सजिलै छोड्न म लाग्दो रहेछ र,’ उनी भन्छन् । गणेशबहादुरका सात छोरामध्ये कोही चालक छन् भने केही वैदेशिक रोजगारीमा छन् । कपडा सिलाएरै छोराछोरीलाई अक्षर चिन्न सक्ने बनाउन सकेकोमा उनी खुशी छन् ।

परियारले आफ्नो पेशाप्रति परिवारको सहयोग पनि राम्रोसँग पाएको बताएका छन् । ‘सबैलाई दुःख गरेर अक्षर चिन्न सक्ने बनाएँ । अहिले सबै आ–आफ्नै व्यवस्था गरेर बसेका छन् । मलाई पनि धेरै सहयोग गर्छन्,’ उनले भने ।

श्रीमती मनमायाले पनि कपडा सिलाउने काममा सहयोग गर्ने गरेको उनी बताउँछन् । ६ दशकदेखि टेलरसँगै सियो र धागोको सहारामा छाक टार्दै आएका उनले पेशाबाट खुसीसँगै सन्तुष्टि पनि लिएको बताए । उनी मकवानपुरगढी गाउँपालिकाकै परिचित सुचिकार हुन् । उनी सुचिकार मात्रै नभइ नगर्चीका रूपमा पनि गाउँभरी चिनिएका छन् । गाउँका धेरै युवाहरूको बिवाहमा उनले पञ्चेवाजा बजाएका छन् । ‘मैले यो गाउँका धेरै केटाकेटीको विवाहमा पञ्चेवाजा बजाएको छु,’ उनी भन्छन् ।

उनी कालिवन पञ्चेवाजा समूहका संयोजकसमेत हुन् । मकवानपुर उद्योग वाणिज्य संघले केही वर्षअघि आयोजना गरेको पञ्चेवाजा प्रतियोगितामा उनको पञ्चेवाजा समूह जिल्लाकै दोस्रो उत्कृष्ट हुन सफल भएको थियो ।

-शिलापत्र डटकमका लागि नवीन तिमल्सिनाले लेखेको समाचार साभार