
खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा नयाँ भवन निर्माणको काम सुरु भएको छ । हेटौंडा अस्पतालका लागि तीन वटा ब्लकमा पाँच तले भवन निर्माण सुरु गरिएको हो । अस्पतालको भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिपुजन गरी निर्माण कार्यको सुरु गरिएको हो । अस्पतालको भवन २३ करोड २७ लाखको लागतमा निर्माण गर्न लागिएको छ । ५ तल्लाको भवन निर्माण भएपछी दुइ सय शैय्याको अस्पताल भवन निर्माण गरिनेछ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रधालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले कार्यालयले वितेको असार १८ गतेनै विकेओआइ र नव श्रीजनशिल निर्माण कम्पनिसँग ठेक्काको संझौता गरिसकेको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका सिनियर डिभिजन इन्जिनियर राजेश कुमार पौडेलले बताउनुभयो ।
तीन वटा व्लक निर्माण हुने छन् । त्यस मध्येमा एउटा व्लकमा पार्किङ गर्नका लागि अण्डरग्राउन्ड समेत निर्माण गरिएको भएको पौडेलले बताउनुभयो । निर्माण कम्पनिले २०८० साल पुस १६ गते अस्पताल निर्माणको काम सक्नुपर्ने संझौतामा उल्लेख रहेको छ । यो भवन निर्माण भएपछी हेटौंडा अस्पतालमा पाँच सय वेड पुर्याउने प्रदेश सरकारको लक्ष्यलाई थप सहयोग पुग्ने छ ।
भूमिपुजन पश्चात बोल्दै मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पताललाई निकट भविष्यमा पाँच सय बेडको बनाउने र पछि थप दुइ वर्ष भित्रमा अस्पताललाई स्तरोन्ती गरी सबै भवनहरु निर्माण भइसकेपछी ९ सय बेड सम्मको बनाउने बताउनुभयो । हेटौंडामा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन भएको बताउदैं मुख्यमन्त्री पौडेलले अस्पतालहरुमा आइसीयु, एचडीयु, भेन्टीलेटर सहितको सेवा दिइरहेका छौं अझै अन्य सेवा दिन बाकी रहेको बताउनुभयो ।








