
खबरबाकस \ मकवानपुरर बारा जिल्लाको सिमानामा अवस्थित चुरियामाइमा रहेको एक सय ४ वर्ष पुरानो जिर्ण सुरुङको पुनःनिर्माणका लागि विहीबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङको पुनःनिर्माण गर्न शिलान्यास गरेका हुन् ।
मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाइ सुरुङलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रदेश सरकारको यातायात पुर्वाधार निर्देशनालय हेटौंडाले ठेक्का लगाइसकेको छ । नेपाललाई संसारभर चिनाउन मद्धत गर्ने हेटौंडास्थित पहिलो सुरुङको पुनर्निर्माण सुरु गर्ने शिलान्यास गरिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले तीन करोड ३६ लाख १३ हजार रुपैयाँ लागतमा निर्माण गर्नका लागि माउन्टेनइन्फ्रा कम्पनि लिमिटेड काठमाण्डौले संझौता गरेर काम थाल्न लागेको निर्देशक डा. सहदेब बहादुर भण्डारीले बताए । प्रदेशमा भौतिक पूर्वाधार अध्ययन केन्द्रका रुपमा विकास गर्न बहुवर्षीय योजना अगाडि बढाइएको छ । पहिरोले एकापट्टिको भाग पुरिएपछि सुरुङमार्गको करिब २ सय ८० मिटरमात्र बाँकी रहेर अस्तित्व नै नरहने अवस्थामा पुगेपछि प्रदेश सरकार पुनर्निर्माण गर्न बजेट विनियोजन गरिएको हो ।
यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले निर्माण कम्पनिसंग गत बैशाख १९ गते संझौता गरिसकेको छ । सुरुङ पुनर्निर्माणको काम भने २०७९ साल बैशाख १९ गते सक्नेगरी संझौता गरिएको निर्देशक भण्डारीले बताए । साविक चुरियामाई नगरपालिकाले क्षेत्र विस्तार भएपछि हाल हेटौंडा उपमहानगरपालिका वडा–१५ मा पुनर्निर्माण हुँदै हेटौंडा चुरियामाइको मानवनिर्मित एसियाकैपहिलो सुरुङको रुपमामा रहेको ऐतिहासिक सुरुङ सम्बन्धमा प्रदेश सरकारले चासो लिएको छ ।
नेपालका प्रथम ग्राजुएट सिभिल इञ्जिनियर ब्रिगेडियर जनरल डिल्लीजंग थापाको डिजाइनमा सुरुङ तयार भएको इतिहास छ । थापाले देशका १२ वटा महत्वपूर्ण भौतिक संरचना डिजाइन गरेका थिए । तत्कालीन नेपालमा बहुचर्चित र प्रयोगमा आएको हेटौंडा—काठमाडौं रज्जुमार्ग (रोपवे), १९९० को भुकम्पपछि भत्किएको काठमाडौंको धरहरा र घण्टाघर पुनर्निर्माण, काठमाडौंमा रहेका राणाका दरबारहरु, नेपालको पहिलो रेलवे (जनकपुर–जयनगर), राष्ट्रपति भवन शितल निवास र पाँचखाल अड्डाको पुनर्निर्माणका निम्ति डिजाइनिङ गरेका थिए । उनी जगतजंगका नाति हुन् । जगतजंग, राणा प्रधानमन्त्री जंगबहादुरका नाति हुन् ।








