मुख्य खबरसमाचारफिचर

माधव समूहलाई ओलीले भने– फर्किनुस्, पार्टीले क्षमा गर्छ

संवाददाता

काठमाडौं \  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

आज अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रमा उनले पार्टीले क्षमा गर्ने भन्दै फर्किन आग्रह गरे । “पार्टीले क्षमा गर्छ । साथीहरु गल्ती नगर्नुस् । पार्टीमा फर्किनुस्,” ओलीले भने ।

केही व्यक्तिहरु प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउने काममा लागिपरेको आरोप उनले लगाए । “केही व्यक्तिहरु आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर, पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भएको हामीले देखिरहेका छौँ । प्रतिक्रियावादीसँग मिलेर सरकार ढालिरहेको देखेका छौँ । आफ्नो पार्टी फुटाएर सजिलो बनाएको देखिरहेका छौँ । आफ्ना सांसदलाई झुक्याएर वा प्रलोभनमा पारेर बाहिर लगेको देखिरहेका छौँ,” उनले भने ।

ओलीले विरोधीका पछि लागेर आफ्नो भविष्य ध्वस्त पार्ने र आन्दोलनको भविष्य कमजोर किन पार्ने ? भन्दै प्रश्न गरे । उनले देश धेरै अप्ठ्यारो मोडमा पुगेको जिकिर पनि गरे ।

ओलीले पार्टीको पक्षमा उभिन आग्रह गरे । पार्टीविरोधी चक्रव्यूबाट बाहिर निस्कन अनुरोध गरे ।“पार्टीको पक्षमा उभिनुस् । देशले तपाईंहरुको स्वागत गर्छ । पार्टीले स्वागत गर्छ,” ओलीले भने । अहिलेसम्म भ्रममा रहेकालाई फर्किएर आउन उनले आग्रह गरे । उनले प्रतिगमन सच्चिन धेरै समय लाग्ने पनि बताए ।