मुख्य खबरसमाचारफिचर

अपमान सहेर पार्टीमा बस्न सकिँदैनः माधव नेपाल

संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टी भित्र बस्न नसकिने बताएका छन् । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने बताए ।  नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र एकताको नाममा अपमान सहेर नबस्ने स्पष्ट पारे ।

उनले भने, “हामी संकल्प गरौं–कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर अघि बढ्नेछौँ । कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहन्छौं । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर नै नेकपा (एमाले) अगाडि बढोस् भन्ने चाहना व्यक्त गर्दछौं । त्यो स्वरुपमा पार्टी अगाडि बढछ कि बढदैन ? हामी पर्खेर हेरिरहेका छौं ।

त्यस स्वरुपमा अघि बढछ, सोही रुपमा रुपान्तरण हुन्छ, ठिक छ । कसले बनेको घरबाट त्यत्तिकै निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन । सबै खालका कुकर्म हुँदाहुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन । त्यो प्रशिक्षण हामीले पाएका छैनौं ।”