
श्रीराम अर्जुन
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सातौं गाउँ सभाले आर्थिक वर्ष २०७८/०७९का लागि ७२ करोड ७५ लाख ३५ हजारको बजेट पास गरेको छ । प्रदेश, संघीय सरकारका सर्सत, समपुरक, विषेश बजेट अनुदान सँगै गाउँपालिकाको समेत गरी उक्त बजेट पास गरिएको हो ।
गाउँपालिकाले कृषि क्षेत्रको कार्यक्रमलाई १ करोड ९३ लाख ५० हजार बजेट छुट्याएको छ । जसमा कृषि प्राविधिक कर्मचारीको तलबभक्ता समेत रहेको छ । केरा खेतीको लागि प्रख्यात मकवानपुरगढी कृषि सँगै व्यवसायिक पशुपालन र तरकारी खेतीको साथमा पकेट क्षेत्र तयार पारी कृषि काम गरिरहेको पाइन्छ ।

गाउँपालिकाले उत्कृष्ट कृषि कर्म गर्नेलाई नगद सहित सम्मान तथा पुरस्कृत गर्दै पनि आएको छ । गाउँपालिकाले यस वर्षका लागि बसाइसराई गरी आउनेलाई कृषिपशु विषेश प्रोत्साहन सहयोग गर्नका लागि सात लाख बजेट छुट्याइएको छ । बाँझो जग्गामा कृषिपशु प्रोत्साहन कार्यक्रमलाई भने १५ लाख छुट्याइएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताउनुभयो ।

आधुनिक कृषि यान्त्रीकरणका लागि १० लाख, किसान क्रेडिट कार्ड तथा साना उद्यमी सहजीकरण व्याज प्रोत्साहनका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले अनाज खरिद विक्री अनुदानका लागि १० लाख, तरकारी तथा फलफुल बजारीकरणका लागि १० लाख छुट्याउनुका साथै युवाहरुलाई कृषि र पशुपालनमा युवा उद्यमी व्याज अनुदान कार्यक्रमलाई १५ लाख रहेको अध्यक्ष हुमागाईले बताउनुभयो ।

गाउँपालिकाले माटो परिक्षण, बाली उपचार घुम्ती शिविर,फलफुल पकेट कार्यक्रम, लिक्वीड फर्टिलाइजर व्यवस्थापन, बुढीचौरमा बेमौसमी तरकारी खेती पकेट क्षेत्रमा कार्यक्रम,प्लास्टिक टनेल तथा मल्चिङ कार्यक्रम, पालिका स्तरीय कृषि मेला प्रदर्शनी, वीउको आलु मिनी किट खरिद कार्यक्रम जस्ता विभिन्न कृषिमा आधारित कार्यक्रमहरुमा बजेट विनियोजन गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।

गाउँपालिकाले कृषि सँगै पशु क्षेत्रमा पनि १ करोड ६० लाख ५० हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाले किसानलाई प्रति लिटर दुधमा अनुदान दिनको लागि ४५ लाख छुट्याएको छ । दुग्ध उत्पादक किसान,संचित कोष तथा उपदान प्रोत्साहन साझेदारी कार्यक्रमका लागि २२ लाख ५० हजार, मासुजन्य खरिद विक्री प्रोत्साहन कार्यक्रमलाई १५ लाख रकम विनियोजित गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।

गाउँपालिकाले बाँझो जग्गामा पशुपालन गर्ने कार्यक्रमलाई १५ लाख,पशु यान्त्रिकीकरणमा १० लाख, कुखुरा पालन किसान प्रोत्साहन कार्यक्रमलाई १० लाख र नश्ल सुधार कार्यक्रम उपकरण व्यवस्थापन, कृत्रिम गर्भाधानका लागि विज खरिद, पशु प्रयोगशाला ड्रेचिन्ङ मेशिन,उन्नत घाँस खेती प्रोत्साहन कार्यक्रमलाई आवश्यक रकम छुट्याइएको अध्यक्ष हुमागाईले बताउनुभयो ।

तस्विर सौजन्य: कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी








