
खबरबाकस \ बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा शिक्षकहरूले धर्ना दिएका छन् ।
विभिन्न ३४ वटा मागहरुसहित नेपाल शिक्षक महासंघ बागमती प्रदेश आन्दोलन परिचालन समितिको आयोजनामा बागमती प्रदेशका शिक्षकहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना दिएका हुन्।
बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह संयोजक दीपकलाल खतिवडाको नेतृत्वमा बागमती प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले कार्यालयमा धर्ना दिएका हुन्।
शिक्षा मन्त्री तथा सचिवहरु सँगको मागहरु ठिक छ भनी सम्झौता गरियो तर कार्यान्वयन नगरिएको, शिक्षक सबै एकखाले हुनुपर्यो, शिक्षाको संवैधानिक आयोग राखिनुपर्ने, शिक्षा ऐन परिवर्तन गरिनुपर्ने, इसिडी शिक्षकको तलब वद्धि गरिनुपर्ने, शिक्षक बढुवा हुने प्रणाली समयको आधारमा गरिनुपर्ने, शिक्षकका विमा, उपचारको व्यवस्था हुनुपर्ने जस्ता ३४ वटा माग राख्दै धर्ना बसेका हुन् ।
केन्द्रीय कार्यक्रम अन्तर्गत शुक्रबार बिहान बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा धर्ना दिइएको नेपाल शिक्षक संघ हेटौंडा नगर सचिव श्रीराम लुइँटेलले बताउनुभयो । यस अघि शिक्षक महासंघ मकवानपुरले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्ना दिएको थियो।








