
खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरको सेवा स्थगित गरिएको छ ।
आइसोलेशनबाट सेवा लिएका अन्तिम चारजनालाई बिहीबार बिदाई गर्दै सम्पुर्ण सेवा स्थगित गरिएको कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालले बताए ।
असार ३१ गतेसम्म स्वयमसेवी हिसावले व्यवस्थापन कार्यमा हामी जुट्यौ र आइसोलेशनमा रहेको संक्रमितहरु सरकारको मापदण्डअनुसार हाल संक्रमण मुक्त हुनुभएकाले उहाँहरुको विदाई गर्दै पल्पसा आइसोलेशन सेन्टर स्थगित गरिएको कटुवालले बताए । पल्पसा आइसोलेशन गत जेष्ठ १९ गतेबाट संचालनमा आएको थियो ।
पल्पसा आइसोलेशनमा २४ सै घण्टा चारजना नर्स पवि लामा सिन्तान, कविता सापकोटा, मुस्कान पौडेल र प्रिती घिमिरेले कोभिड बिरामीहरुको नियमित चेकजाँचसेवा दिइएको थियो । अनमी दिव्या बस्नेत, अहेव प्रविन पुडासैनी, डाक्टर ओजश्वी पोखरेलले पनि दैनिक स्वास्थ्य परामर्श प्रदान दिइएको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय सदस्य एवम् सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरका अध्यक्ष राम विष्टमार्फत केन्द्रको स्वामित्वमा रहेको एम्बुलेन्स २४ घण्टा निःशुल्क सुविधा प्रदान र डेक्सबाट निशुल्क अक्सिजन सिलिण्डर सहयोग गरिएको थियो ।








