
हेटौंडा \ बागमती प्रदेशसभाको बैठक आज दिउसोका लागि बोलाइएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक आज दिउसो तीन बजेका लागि बोलाउनु भएको हो । बजेट पेस गरेको १७ दिनपछी आजबाट प्रदेश सरकारले ल्याएको बजेट माथीको छलफल हुने छ । बजेट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ एमालेभित्रै मतभेद सिर्जना भएपछि अनिश्चित बनेको बागमती प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।
प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । असार १ मा आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गरेसँगै प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगन गरिएको थियो । सरकारले बजेट बाँडफाँट विवरण पुस्तिका (रातो किताब) प्रदेशसभा सदस्यहरूलाई उपलब्ध नगराउँदा बैठक बस्न सकेको थिएन । बैठक नबस्दा बजेटमाथि छलफलसमेत रोकिएको थियो । एमालेभित्रको विवादका कारण रातो किताब प्रकाशनमा ढिलाइ भएको हो ।
कानुनी व्यवस्थाअनुसार तोकिएकै दिन बजेट ल्याइएको भए पनि पार्टीभित्रको विवाद मिलाउन सरकारले लामो समयसम्म रातो किताब प्रकाशन नगरेर योजना थपघट गरिरहेको थियो । बजेटमा भौगोलिक सन्तुलन कायम नगरिएको र पहुँचको आधारमा वितरण गरिएको आरोप लगाउँदै एमालेको खनाल–नेपाल समूहका सांसदहरू सरकारसँग रुष्ट छन् । उनीहरूले अबन्डाका रूपमा धेरै बजेट राखेर सरकारले मनलाग्दी रूपमा बजेट चलाउन खोजेको आरोप लगाएका छन् ।








