
राष्ट्रियसभाको आठौँ अधिवेशन आज (बिहीबार) बस्दैछ । अधिवेशन दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभामा हाल १९ वटा विधेयकहरू रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने संघीय संसद् सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार अध्यादेशहरू पेश हुने पनि उहाँले बताउनुभयो । राष्ट्रियसभा बैठकमा सहभागी हुने सदस्यहरूको बुधबार एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै, संसद् भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद् सचिवालयका कर्मचारीको पनि एन्टीजेन परीक्षण गरिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १० गते राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको थियो । राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो ।
संघीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो । सो अधिवेशनमा चार बैठक बसेकामा सात अध्यादेश पेश गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।








