मुख्य खबरसमाचारफिचर

प्रदेश सञ्चार नीति बारे हेटौंडामा छलफल

संवाददाता

हेटौंडा प्रदेशको संचार नीतिबारे आज हेटौंडामा संवाद कार्यक्रम भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवं मकवानपुर शाखाको संयोजनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागि सञ्चारकर्मी तथा मिडिया उद्यमीहरुले बागमती प्रदेश सरकारले सञ्चार क्षेत्रलाई उपेक्षा गरेको र त्यसका बिरुद्धमा आन्दोलनमा रहेको वताएका छन् ।

कार्यक्रममा बागमती प्रदेश प्रतिपक्षी दल नेपाल कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याउने संचारहित विपरीतका कार्यक्रमप्रति आफुहरूको विमति रहने बताउनुभयो । उहाँले प्रदेश सरकारले स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको बताउनुभयो । संचार जगतलाई बलियो र सूचनाको हकलाई प्रवर्द्धन भन्दा सरकार कानून मिच्ने कामतर्फ अघि बढेको बताउनुभयो ।

उहाँले सरकारले संचारगृह चलाउने बजेट ल्याउन खोजेकोमा कांग्रेसले विरोध गर्ने र अंकगणितीय बलका आडमा पास गरे कांग्रेस नेतृत्वको सरकारले खारेज गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले कुनै पनि हालतमा संचारगृह संचालन गर्न नहुने बरू प्रदेशका श्रमजीवी पत्रकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले आफ्नो गलत कामको ढाकछोप गर्न संचारगृह खोल्नु लोकतन्त्र विरोधी गतिविधि भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, संस्थापक अध्यक्ष प्रताप बिष्ट, केन्द्रीय सदस्य सुनिल खड्का र ध्रुव रावल, ब्रोडकाष्टिङ एशोसियसनका कार्यवाहक अध्यक्ष उज्ज्वल चौलागाईं, आन्तरिक मामिला मन्त्रालयका उपसचिव नारनप्रसाद पोखरेल, प्रेस रजिष्टार रेवती सापकोटा, प्रेस चौतारी मकवानपुर अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।