मुख्य खबरसमाचारफिचर

आज १८औं राष्ट्रिय धान दिवस

संवाददाता

आज राष्ट्रिय धान दिवस । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष आज १८औं राष्ट्रिय धान तथा रोपाइँ महोत्सव मनाइँदै छ । गत वर्ष जस्तै यस वर्ष पनि कोरोना संक्रमणका कारण सुरक्षा मापदण्ड अपनाउँदै रोपाइँ महोत्सव आयोजना गरिने कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपालमा विसं. २०६२ सालयता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली वर्षका रूपमा मनाएको थियो ।

मानो रोपेर मुरी फलाउने दिनका रूपमा यसदिन अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाइँ गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमासमेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

असारमा गरिने धान रोपाइँमा धेरै जनशक्ति अर्थात् खेतालाको आवश्यक पर्दछ । त्यही भएर गाउँघरमा पालैपालो पर्म लगाई रोपाइँ गर्ने प्रचलन रहेको छ । यसरी पालैपालो रोपाइँ गर्दा सामाजिक एकता र सद्भावको बढोत्तरी हुन्छ । असार पन्ध्रका दिन अझ विशेष प्रकारले ठूला–ठूला रोपाइँ गरिन्छ । यस्तो रोपाइँमा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने र खेताला जनहरूलाई मसला र रूमालसमेत बाँड्ने चलन रहेको छ ।

धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउँछ भने ग्रामीण भेकमा किसानहरूले आफ्नै तवरले मनाउँछन् । असार १५ का दिन एकफेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइँलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ ।