
हेटौंडा \ मकवानपुर प्रहरीले राक्सिराङबाट ७९ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ-९ का २० बर्षीय प्रताप स्याङतान र कैलाश-२ का ४३ बर्षीय लाल बहादुर स्याङतान रहेका छन् ।
प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको टोलिले राक्सिराङ-५ स्थित परेवाभिर सडकखण्डमा मनहरीतर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेको ८/९ जना मध्ये अन्य मानिसहरु बोकिल्याएको भारी फालि फरार भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रताप र लालबहादुरलाई नियन्त्रणमा लिई उनीहरूले बोकी ल्याएको भारी जाँच गर्दा लागुऔषध गाँजा ७९ किलो फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।








