
हेटौंडा \ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता,प्रतिलिपी र राहदानी बनाउन आउनका लागि दश वटा स्थानीय तहका लागि निश्चित दिन तोकेको छ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बुधबार एक सुचना जारी गर्दै नागरिकता तथा राहदानी बनाउन आउनलाई निश्चित दिन तोकेका हुन। विज्ञप्तिमा थाहानगर,कैलाश,राक्सिराङ, भिमफेदी र इन्द्रेसरोबर गाउँपालिकाका सेवाग्राही नागरिकता तथा राहदानी सम्बन्धी कार्यका लागि मंगलबार र बुधबार आउन भनिएको छ।
त्यसैगरी मनहरी,बागमती,बकैया मकवानपुरगढी र भिमफेदी गाउँपालिका सेवाग्राहीलाई बिहिबार र शुक्रबार आउन भनिएको छ भने हेटौंडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानी सम्बन्धी सेवा लिन आउने भनिएको छ।
कोरोनाको सङ्क्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न यसो गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताएका छन। सेवाग्राहीले सेवा लिन कार्यालय आउँदा अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्न समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।









