
रोल्पा \ ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ’ पुस्तकका लेखक थबाङका गोरे दाइ अर्थात् पूर्णबहादुर रोकामगरको निधन भएको छ । गत साता थबाङमा उनको निधन भएको हो । दुई छोरी र एक छोराका पिता उनी थबाङका पुराना कम्युनिस्ट कार्यकर्तामध्येका एक थिए । तत्कालीन सांसद स्वर्गीय बरमन बुढामगरसँगको संगतले उनी कम्युनिस्ट बनेका थिए । पूर्णबहादुरले उक्त पुस्तक ०६८ सालमा प्रकाशित गरेका हुन् । पुस्तकमा थबाङलाई तत्कालीन माओवादी सशस्त्र संघर्षसँग जोड्ने प्रयास गरेका छन् ।
थबाङको भौगोलिक संरचना, इतिहास, सामाजिक र सांस्कृतिक पक्ष एवं प्राकृतिक पक्षबारे उल्लेख गरिएको उक्त पुस्तकमा राजनीतिक सम्बन्धलाई मुख्य महत्त्व दिइएको छ । माओवादीद्वारा सञ्चालित १० वर्षे लामो संघर्षको मुख्य थलोका रूपमा चिनिएको थबाङ कसरी कम्युनिस्ट केन्द्र र थलो बन्यो भन्ने चर्चा उक्त पुस्तकमा छ । पुस्तकका लेखक पूर्णबहादुरले थबाङबाहिरको कम्युनिस्ट नेतृत्वलाई स्थानीयले कसरी सुरक्षित र संरक्षित गरे भन्ने नालीबेली पनि पुस्तकमा उल्लेख गरेका छन् ।








