
खबरबाकस \ मकवानपुर प्रहरीले ९६ किलो गाँजा सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । असार १ गते सोमबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले विशेष सुराकीको आधारमा गाडी सहित नियन्त्रणमा लिएको हो ।
मनहरीबाट हेटौडा तर्फ आईरहेको ना.२ ख ५५७९ नं. को कन्टेनर गाडी चेकजाँच गर्दा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।
उहाँका अनुसार थानाभ¥याङमा चेक गर्न खोज्दा नरोकी फरार रहेको थियो, हामीले पिछा गर्दा आधाघण्टा पछि भुटनदेवीको मोडमा फेला पारी नियन्त्रणमा लिन सफल भएका हौं रिमालले भन्नुभयो ।
उक्त कन्टेनर गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा ९६ किलो ४०० ग्राम फेला परेको हो । गाडीका चालक मनहरी वडा नं. ६ बस्ने २५ वर्षका सन्तोष आलेमगर, सह–चालक सोही बस्ने २१ वर्षका मोसा घलान र सो कन्टेनरमा सवार रहेका कैलाश वडा नं ८ भार्ता बस्ने २४ वर्षका उमेश लामालाई नियन्त्रण लिइएको छ ।
उनीहरुलाई प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले गाँजा कारोवारमा थप संलग्न व्यक्ती चितवनको राप्ती नगरपालिका वडा नं. २ बस्ने ३१ वर्षका बिष्णु लामा र मकवानपुरको कैलाश वडा नं. ८ बस्ने २९ वर्षका रोशन मुक्तानलाई मंगलबार पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक रिमालले बताउनुभयो ।








