मुख्य खबरसमाचार

मनहरी आइसोलेसनलाई सिलिण्डर सहयोग

संवाददाता

मंगलबार मनहरी आइसोलेशनको लागि चार सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालसहितको टोलीले मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई उक्त अक्सिजन हस्तान्तरण गरिएको हो । कोभिड हेल्प डेस्कको टोलीले मंगलबार मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी र वरिष्ठ उपसभापति गणेश मानन्धरलाई मनहरी क्षेत्रमा कोभिड संक्रमण न्यूनिकरण अभियानको लागि च्यावनप्रास दुई कार्टुन, फलफुल एक कार्टुन र फेससिल्ड बीस थान उपलब्ध गराएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवालले संयोजन गर्नुभएको मनहरीको कार्यक्रममा हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु गोकर्ण पराजुली, मणिराज गौतम, रामकुमार एलन, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल,राजाराम बोगटीलगायतको सहभागिता रहेको थियो ।

मंगलबार नै हेल्प डेस्कबाट थप दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–२, पुरानो मकवानपुर रोड निवासी एकजना र हेटौंडा–१५, रातोमाटेका एकजनालाई अक्सिजन वितरण गरिएको हो । पल्पसा आइसोलेशन सेन्टरलाई चुरे हिल हस्पिटलले आइसोलेशन संचालन अवधिभरको लागि एक थान अटोक्लेभ सहयोग गरेको छ । अटोक्लेभले संक्रमितको लत्ताकपडा डिसइन्फेक्सन गर्न सघाउदछ ।